इलाम । रोङ्ग-३ कुट्टीडाँडा स्थायी घर भइ हाल दुबई देशलाई कर्मथलो बनाएर जीवन चलाई रहेको मिलन बम्जनले कोरोना भाइरसलाई जितेको छ । उहाँ एक गायक पनि हुनुहुन्छ, उहाँको स्वरमा धेरै वटा कभर गीतहरु रेकर्ड भएको छ साथै ३ वटा आफ्नै गीत बजारमा आई सकेको छभने एउटा गीत रेकर्ड हुने क्रममा छ ।
ईलामेली गायक मिलन बम्जनसँग “तपाईले कोरोना भाइरस संक्रमित भएपछि के कस्तो अनुभव गर्नु भयो” भन्ने बिषयमा आज झापा बुलेटिनको प्रतिनिधि सन्तोष ढुङ्गेलसँग गरिएको भलाकुसारी जस्ताका त्यस्तै प्रस्तुत गरिएको छ ।

✍️ तपाईलाई कोरोना भाइरस पुष्टि हुनु अघि कस्तो लक्षण देखिएको थियो?
🗣️ सुरुमा सामान्य टाउको दुख्दै थियो । आफिसको काम सकेर हतार हतार रुम गएर आराम गरेँ । लगभग एक घण्टा पछि अत्यधिक ज्वरो आयो । सामान्य आफैले ज्वरोको औषधि किनेर खाएँ, तीन दिन पछि एकदमै छाती दुख्ने, तल्लो पेट दुख्ने, स्वास फेर्न गाह्राे भयो । कोरोना भाइरससँग कतै कतै लक्षण मिलेको जस्तो भएपछि मैले हेल्प लाइनमा फोन गरे । फोन गरेको लगभग १५ मिनेट पछि म भएको रुममा डाक्टर आएर परिक्षण गर्नु भयो । त्यसको १ घण्टा पछि एम्बुलेन्स आयो, त्यही एम्बुलेन्सबाट हस्पिटलमा स्थानान्तरण गर्‍यो ।

✍️ कोरोना संक्रमित भएको जानकारी पाएपछि कस्तो खालको सोचाई आयो?
🗣️ सुरुमा त निकै डराएको थिएँ, अब म सकिएछु । घर, गाउँ, साथीभाइ सबैको याद आएको थियो । छिनभरमा म संक्रमित भएको हल्ला हावासरी फैलिएछ । मलाई मेरो फेसबुकमा कमेन्ट, म्यासेजबाट सहानुभूति दिदै “यो रोग केही होइन मिलन, तिमीले सजिलै जित्छौ” भनेर सबैले भनेपछि मनभित्र एक प्रकारको आत्मबल मिल्यो । यो भाइरस केही पनि होइन, एक सामान्य रुघाखोकी जस्तै हो, केही समयमा ठिक भइ हाल्नेछुभन्ने लाग्यो । नभन्दै अहिले म ठिक छु । अहिले आएर मलाई के लाग्दैछभने हामी जो कोहि कोरोना संक्रमित भयौ र सो समयमा नकारात्मक सोच राख्यौभने, कोहि कसैबाट आत्मबल मिल्ने प्रोत्साहन पाएनौभने, डाक्टर र नर्सले राम्रो व्यवहारमा होसियारपुर्वक ख्याल गरेर उपचार गरेनभने चैँ बाँच्न गाह्रो हुने रहेछ ।

 

✍️ तपाईं दुबईमा हुनुहुन्छ, त्यहाँ कोरोना भाइरस संक्रमित बिमारीलाई गरिने उपचार विधि र डाक्टरहरुको व्यवहार कस्तो छ?
🗣️ एकदम राम्रो छ । मलाई इरानियन अस्पतालमा राखिएको थियो । त्यहाँ एकदम नै ठूलो फराकिलो रुम थियो । त्यहाँ मलाई एक्लै राखिएको थियो । मलाई चेक गर्न डाक्टरहरु घण्टा घण्टामा आउने गर्थ्यो । डाक्टरहरुको त्यो मीठो बोली र मनोबल बढाउने व्यवहारले त्यसै ५० प्रतिशत बिराम निको भएको आभास हुन्थ्यो ।
अनलाइनमा समाचार पढ्छु, नेपालमा क्वारेन्टाइनमा राख्दा सामुहिक राख्छ रे । त्यसो हुँदा संक्रमित हुने, नहुने एकै ठाउँमा हुँदा संक्रमित हुनेबाट नहुनेमा सर्ने उच्च जोखिम हुन्छ । धेरै लापरवाही छ रे, बिरामीलाई पनि डाक्टरहरुले राम्रो व्यवहार गर्दैन रे? सोच्दैछु यदि म नेपालमै थिएँभने चैँ बाँच्दिन थिए होला ।

✍️ तपाईंलाई यी नागरिक हाम्रो देशको होइन, नेपाली होभन्दै कतै दुर्व्यहार त गरेन?
🗣️ मैले अघि भने त, पटक्कै गरेन । म दुबई सरकारलाई भित्री हृदयदेखि धन्यवाद दिन्छु । कुनै विभेद नै नगरी दुबई सरकारले उपचार गर्‍यो । बरु नेपालमा चैँ खोइ के भएर हो, आफ्नै देशको नागरिकलाई दुर्व्यहार गरेको सुन्छु, एकदम दुख लाग्छ ।

✍️मिलन जि अनि अहिले के गर्दै हुनुहुन्छ त?
🗣️ अहिले अस्पतालबाट डिस्चार्ज भएर म कम्पनी गएको छु । अहिले कम्पनीले राखिएको क्वारेन्टाइनमा छु । कम्पनीले पनि एउटा रुममा एक्लै राखेको छ । खाना सबै कम्पनीले हेर्दैछ, एक महिना खाने औषधि दिएको छ त्यही खादै बसेको छु । कम्पनीले १७/१८ दिन कम्पनीको क्वारेन्टाइनमा राखेर मात्रै काममा लगाउनेछ ।

✍️ हामी अन्त्य तिर आईपुग्यौ, तपाईं कोरोना भाइरस संक्रमित बिमारीहरुलाई के भन्न चाहानु हुन्छ?
🗣️ सबैभन्दा पहिला, तपाईंहरु अलिकति पनि नडराउनु होस । वास्तवमा यो एक सामान्य रोग होभन्ने सम्झिनु होस । आफुले आफुलाई एकदम मानसिक रुपमा सजक बनाएर सकारात्मक सोच मात्रै लिनु होस । बजारमा चलेको हल्ला पछि नलाग्नु होस । सकभर हरेक समय तपाई मानसिक रुपमा स्वस्थ्य रहने कोशिस गर्नु होस । यदि हाम्रो मानसिक अवस्था स्वस्थ्य रहन सक्योभने केही हुने छैन ।
साथै बिमारीका नजिकको साथीहरुले मनोबल बढाउन हौसला, प्रोत्साहन प्रदान गर्ने कुराहरु फेसबुक, मेल, म्यासेजको माध्यमबाट गरि दिनु होला, कोरोना भाइरस संक्रमित नभएकाहरुले समाजमा अनावश्यक नकारात्मक हल्ला नगर्नु होला । डाक्टर र नर्सहरुले यो बिमारीलाई अरु बिमारीलाई जस्तै गरेर उपचार गरि दिनु होला । राज्यले क्वारेन्टाइन राख्ने ठाउँहरु अलिक व्यवस्थित गर्नु होला । भरसक एउटा रुममा एकजना राख्नु होला । निको भएर जानेहरुलाई पुन: घरमै १७/१८ दिन क्वारेन्टाइनमा बसाउनु होला । जसले गर्दा कोरोना भाइरस फैलिने सम्भावना पनि हुदैन । संक्रमित भएकाहरुमा अपृय घटना घट्ने सम्भावना न्यून रहनेछ ।

धन्यवाद ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!