सानै उमेर देखि खेल खेल्न मन पराउने भगवती माझीको जन्म २०४८ फागुन ४ गते बुवा शेर बहादुर माझी र आमा सीता माझीको कोखबाट मन्थली नगरपालिका वार्ड न. ७, रामेछापमा भएको हो । भगवती माझीले ११ वटा राष्ट्रिय पदक र ४ वटा अन्तर्राष्ट्रिय पदक जिति सक्नु भएको छ । उहाँले राष्ट्रपति रामवरण यादव हातबाट रु १ लाख नगद प्रोत्साहन पुरस्कार पनि पाउनु भएको थियो ।
भगवती माझी भनेर गुगलमा खोजियोभने निकै लामो लिष्ट आउँछ । त्यहाँबाट भगवती माझीलाई सजिलै साम्बो खेलाडी र रेस्लर खेलाडी भनेर बुझ्न सकिन्छ । आज झापा बुलेटिनको प्रतिनिधि सन्तोष ढुङ्गेल र वहाँको गफगाफबाट तयार परिएको भलाकुसारी जस्ताको त्यस्तै यहाँ प्रस्तुत गरिएको छ ।

✍️ नमस्कार भगवती जि, हजुरलाई झापा बुलेटिन अनलाइनमा स्वागत छ ।
👉️ नमस्कार साथै धन्यवाद ।

✍️ लकडाउनको बेलामा कसरी दिनचर्या बिताउदै हुनुहुन्छ?
👉️ त्यस्तै हो, कतै जानू पाएको छैन, बिहान उठ्यो, शारीरिक व्यायाम गर्‍यो । पोसिलो खानाहरु खायो । विभिन्न विधाका पुस्तकहरु अध्ययन गर्‍यो, देश-विदेशको समाचार हेर्‍यो । साथीभाइ हरुसँग फेसबुकमा गफ गर्‍यो । यसरी नै बित्दैछ (हल्का मुस्कुराउदैँ) अँ साँच्चै मैले जनचेतनामूलक, सम्पुर्ण नेपालीहरुमा सकारात्मक सन्देश पुगोस भनेर कोभिड-१९ विरुद्ध कसरी लड्ने सो कुराको अडियो भिडियो बनाएर सबैलाई जानकारी गराउदैछु ।

✍️ घरमा को को हुनुहुन्छ नि?
👉️ आमा, बुवा, दाजुहरु ३ जना हुनुहुन्छ र मसँग ६ जना छौ ।

✍️ कसरी खेलप्रति मोहित हुनुभयो नि?
👉️ म सानै देखि खेल खेल्न एकदम रुचि राख्ने । विद्यालयमा हुने प्राय सबै खेलहरुमा सहभागी हुन्थे । साथीहरुबाट पनि प्रोत्साहन मिल्थ्यो, सायद यसैको उपज होला ।

✍️ धेरै सफलता हात पार्नु भएको छ? यसको श्रेय कसलाई दिनु हुनेछ?
👉️ बिशेष मेरो अभिभावक मेरो मातापिता, मेरो गुरु, साथीभाई र मेरो शुभचिन्तकहरु जसले मलाई माया गरेर सुखदुःख, हारजितमा प्रेरणादायी प्रोत्साहन दिई रहनु भयो ।

✍️ तपाईले हालसम्म कति पटक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक जित्नु भयो?
👉️ मैले अहिलेसम्म राष्ट्रिय खेलमा ११ वटा पदक र अन्तर्राष्ट्रिय खेलमा ४ वटा पदक जितेको छु ।

✍️ अन्तर्राष्ट्रिय खेल खेल्न जाँदा के कस्तो प्रक्रिया पूरा गर्नु पर्छ?
👉️ सुरुमा मेहनत गरेर छनौटमा पर्नु पर्‍यो । संघले कहाँ के गर्ने सबै फाइल मिलाउने काम गरिदिन्छ तर लाग्ने पैसा चै कि खेलाडी आफैले लगानी गर्नु पर्‍यो, कि लगानी गर्ने स्पोन्चर हुनु पर्‍यो ।

✍️ भनेपछि राज्यले खेलाडीप्रति लगानी गर्दैन?
👉️ ठुला खेलमा चै गर्ला तर हामीलाई चै गर्दैन नि ।

✍️ अनि संघले पनि गर्दैन?
👉️ संघले गर्दैन नि, हामीलाई मन त छ नि तर के गर्नु मन भएर, संघमा पैसा छैन? त्यसैले स्पोन्चर कतैबाट आएछभने ठिकै छ तर भेटिएनभने खेलाडी स्वयं लगानी गर्नु पर्छ भन्छन । अब स्पोन्चरको आशा गर्दागर्दै खेल्न जाने समय नै सकिन्छ । बरु आफै लगानी गरेर जान्छौ ।

✍️ त्यसो होभने त गरिब खेलाडी जसले पैसा निकाल्न सक्दैन, तिनीहरुको लागि त सपना झैँ रहेछ त अन्तर्राष्ट्रिय खेल खेल्नु त?
👉️ होनि एकदम । खेल खेल्दा लाग्ने रकम छभने ठिकै छ । जानु पाइयो, होइनभने स्पोन्चरको भरमा बस्नु पर्ने हुन्छ । जुन भरोसा पुरा हुन पनि सक्छ, नहुन पनि सक्छ ।

✍️ अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमै आयोजना भयोभने गरिब खेलाडीहरुले पनि अन्तर्राष्ट्रिय खेल खेल्न सक्छ? होइन त?
👉️ एकदम गाह्रो छ नि । कहाँ सजिलै छनौटमा परिन्छ र । छ्नौटमा पर्नु पनि राजनीतिक पहुँच चाहिन्छ । यस्तो कार्यले प्रतियोगिता जित्न सक्ने राम्रो खेलाडीलाई पाखा लगाइन्छ, जो कमजोर छ, उसैलाई काख चेपिन्छ ।

✍️ ए, त्यसोभने सरकारको काम कार्य प्रति खुशी हुनुहुन्न?
👉️ कसरी हुने भन्नू न। खेलाडीलाई खेलेर जिविका निर्वाह गर्ने वातावरण नै छैन । त्यसमाथी प्रतियोगितामा सहभागिता हुनु पर्दा आफ्नै खर्च हुन्छ । प्रतिभावान खेलाडीलाई पैसाको अभावले खेल खेल्न छोडेर जिविका निर्वाह गर्न खाडी मुलुक जानु पर्ने अवस्था छ । हरेक क्षेत्रमा भ्रष्टाचार छ, खेलकुद क्षेत्र पनि अछुतो रहन सकेन । वास्तवमा भन्ने होभने सबै खेलाडीहरु भित्री रुपमा सरकार सँग असन्तुष्ट छ ।

✍️ सरकारले खेलकुद क्षेत्रमा, खेल खेल्ने खेलाडीहरुलाई कसो गर्दा हुने थियो जस्तो लाग्छ तपाईलाई?
👉️ सबैभन्दा पहिला खेलकुद क्षेत्रमा राजनीतिक हस्तक्षेप नहोस । हाम्रालाई होइन राम्रालाई अवसर दियोस, जसले पदक भित्र्याउने धेरै सम्भावना हुन्छ । राज्यले खेलकुद क्षेत्रमा लगानी गरि दियोस ताकी खेलाडीहरुले प्रतियोगितामा सहभागी बन्नको निम्ति घरबारी बेच्न नपरोस । हरेक खेलाडीलाई प्रोत्साहन स्वरुप जिविका निर्वाह गर्ने मार्ग बनाई दियोस । ताकी नयाँ आउने पिढीहरुको निम्ति प्रेरणाको स्रोत बनी खेलाडी बन्नुमा जोश जाँगर चलोस । खेलकुद क्षेत्रमा आधुनिक ढङ्गमा विकास होस । (मुसुक्क हाँस्दै) अरु पनि छन तर महत्त्वपूर्ण कुराहरु यी नै हुन, यस्तो भए राम्रो हुन्थ्यो जस्तो लाग्छ ।

✍️ तपाईलाई सरकारले जिविकायापन गर्न केही पनि गरेको छैन र?
👉️ प्रहरी जागिरमा प्रस्ताव गरेको थियो तर मैले अस्वीकार गरि दिए । धेरै खेलाडीलाई यस्तो विभागीय जागिर मन पर्दैन । तिनीहरुलाई शैक्षिक शिक्षाको आधारमा, शीपको आधारमा अरु पनि सरकारी जागिर दिन सक्छ नि । सरकारले गर या नगर त्यही विभागीय जागिर मात्रै दिन्छ, ईच्छा हुनेहरु त गर्छन तर इच्छा नहुनेहरु मर्कामा पर्छ ।

✍️ तपाईं हिजोआज रेस्लिङ पनि खेलेको देख्छु? के कति कमाई हुन्छ?
👉️ अँ, रेस्लिङ पनि खेल्छु तर रेस्लिङ म रमाइलो तथा रिफ्रेसको हुुुनको लागि खेल्छु । रेस्लिङबाट थोरबहुत कमाई पनि हुन्छ ।

✍️ हामी अन्तिम बिन्दुतिर आइ पुग्यौ, यो खेलकुद क्षेत्रमा आउने नयाँ पिढीहरुलाई तपाईं के भन्नू हुन्छ?
👉️ धन सम्पत्ति कमाउछु भनेर खेलकुद क्षेत्रमा प्रवेश नगर्दा हुन्छ । यदि आफ्नो देशको नाम रोशन खेल माध्यमबाट संसारभर गर्छु भन्ने सोच छभने खेलकुद क्षेत्रमा पाइला राख्नु होस । मेहनत गर्नुहोस, आफु प्रति विश्वास गर्नुहोस । एक दिन अवश्य सफल हुनेछौ । (खित्का छोडेर हाँस्दै) फेरि खेल खेलेर जिविका निर्वाह गर्छु भन्ने छभने अहिलेसम्म हातले गन्न सक्नेले मात्रै खेलेरै जीवन निर्वाह गरेको देखेको छु । धेरैले जीवन चलाउन अरु नै काम गरेको पाएको छु । त्यही हो उमेर भएसम्म देशको लागि खेल खेल्यो, भोलि उमेर बितेपछि पत्र पत्रीकाको निम्ति दुख, पीडा, अभाव र समस्याको बोकेको राष्ट्रिय खेलाडीको यस्तो दुर्गति भनेर ताजा समाचार बनिन्छौ ।

✍️ भगवती जि अन्त्यमा तपाइँको शुभचिन्तक र झापा बुलेटिनको पाठकहरुलाई के भन्न चहानु हुन्छ?
👉️(लजाउदै मुसुक्क मुस्कान दिदै) खोइ के भन्नू के भन्नू । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट आफू पनि बच्नुहोस, अरुलाई पनि बचाउनुहोस । लकडाउनको पालना गर्नु होस । अनावश्यक रुपमा हिडडुल नगर्नु होस । धेरै मान्छेको सम्पर्कमा नबस्नु होस । नियमित शरिरिक व्यायाम, योगा गर्नुहोस, हरेक खाने कुराहरु धुएर, राम्ररी पकाएर खानु होस । हाम्रो स्वस्थ ठिक भयो भने अहिले भोगेको आर्थिक संकटलाई भोलि पनि काम गरेर ब्यालेन्समा ल्याउन सक्छौ । त्यसैले स्वस्थ रहनु होस, सुरक्षित रहनु होस । म भगवती माझीलाई सधै यसरी माया गरि रहनु होस ।

धन्यवाद ।

https://www.facebook.com/jhapaboolentin/videos/1133959436969301/

Facebook Notice for EU! You need to login to view and post FB Comments!