✍️ सुमन लेप्चा वाङ्चु
रुकुम-जाजरकोट हत्याकाण्डले सामाजिक संजाल तातिरहेको बेलामा मलाई पनि आफू बसेको घर, गाउँ, छिमेकी ठाउँमा “जातिय विभेद” छ कि छैन भन्ने जिज्ञासा पलायो । त्यसैले यो लकडाउन अवधिमा बुद्वशान्तीभर घुमेर सत्यतथ्य पत्ता लगाउने अभियानमा लागेँ । सोध खोज गर्दै जादा धेरै नै जातिय विभेदको सत्य घटनाहरु भएको थाहा पाएँ, त्यो मध्ये एउटा सत्य घटनालाई यहाँ राख्न चाहेँ, जुन घटनाले ती अछुत समुदायमा केही जोस जाँगर पैदा गरेर जातिय विभेदको अन्त्य हुनु सहयोग पुगोस ।
एक जना छिमेकी बुनु थियिन । मैले उनीलाई सोधेँ, बुनु तिमीले जिवनमा कहिले जातिय विभेदको पीडा सहनु परेको छ? उनीले गम्भीर हुँदै उत्तर दियिन, अहिले त छैन त्यस्तो तर सानोमा चैँ धेरै सहेको छु… अँ साँच्चै मैले होइन मेरो आमाले चैँ हिजो अस्ति एकजना ब्राह्मण समुदायको घर जानू भएको थियो काम बिशेषले । कतै ती आइमाईलाई नदेखेर झ्यालबाट कोठातिर नजर लगाउदै बोलाउन थाल्नु भएछ, प्रतिउत्तरमा मुहारको रुप फेरिने गरि गाली पाउनु भयो “किन अर्काको कोठा चियाएको, तिमीहरुले त्यसरी हेर्यौभने म बिमारी हुन्छु, मेरो तल्लो शरीर दुख्छ भनेर ।
अनि मैले सोधेँ, तिमीहरुले केही प्रतिकार गरेनौ? बुनुले भनिन, मैले त आमालाई जाउ, विरोध गरौ भनेको नि, आमा मान्नु भएन? तर मलाई चै त्यसो गर्यो भने म चैँ तुरुन्तै प्रतिकार गर्छु । जे सुकै होस । हिजो आज पिकनिक जाँदा छुत समुदायकाहरुले पानी, खाने कुरा नछुयोस जस्तै व्यवहार गर्छ तर म त सबै छुन्छु ।
मैले सोधेँ, अनि केही भन्दैन?
केही भन्दैन । भन्यो भने त म प्रतिकार गरि हाल्छु ।
मैले भने ठिक गर्यौ, तिम्रो यो कार्यको म खुलेर प्रसंसा गर्छु । तुरुन्तै विरोध या प्रतिकार गर्नु मैले गर्नु पर्ने साथ सहयोग सधैं रहनेछ ।
*ती बुनुसँगको कुराकानीले के पुष्टि गर्छभने हाम्रो समाजमा छुवाछूत संस्कार अझै पनि जिउँदो छ तर बुनुले जस्तै विरोध र प्रतिकार गर्ने हिम्मत सबैमा भयोभने लाग्छ केही हदसम्म जातिय विभेदको अन्त्य हुनुमा थप सहयोग पुग्नेछ । हामीले सहनु हुदैन, जातिय विभेद गर्नेलाई राज्यले अपराधी बनाई सक्यो । यदि “दलित” समुदाय सहेर बस्योभने फेरि ती त्यस्तो व्यवहार गर्नेहरुको बानीमा कहिले सुधार आउनेछैन ।
र अन्त्यमा नेपालकै ख्यातिप्राप्त गायक, सामालोचक, राजनितिज्ञ, विद्वानहरु बसेको मेरो गाउँपालिकामा अझै जातिय विभेदको जरा उखाल्न सकेको छैन रहेछ । यो एकदम दु:खद कुरा हो तैपनि आशा छ, तपाईहरु सबैले “जातिय विभेद” ले निम्ताएर सृजना गरेको घटनाको प्रतिकार गर्दा सो प्रतिकार गर्ने व्यक्तिलाई साथ सहयोग प्रदान गरि अबको केही बर्षमा छुवाछूत रहितको गाउँपालिका घोषणा गर्नु हुनेछभन्ने कुरामा म विश्वस्त छु ।