बिनु यादव गएको डेढ वर्षदेखि आन्दोलनमा छिन् । कहिले सर्वोच्च अदालतमा रातो रङ छ्यापेर विरोध प्रदर्शन गर्छिन्, कहिले माइतीघर मण्डलमा आमरण अनसन बस्छिन्। उनले रामेछापको जिल्ला अदालतमै विष सेवनसमेत गरेकी थिइन्।
बिनुलाई न्यायका लागि सडकदेखि अदालतसम्म धाइरहनुपर्ने अवस्थामा पुर्या एको नेपाल प्रहरीको गैरजिम्मेवारीले हो । चार वर्षअघि आफू बलात्कारमा परेको जाहेरी लिएर काठमाडौं प्रहरी परिसरको महिला सेल पुगेकी बिनुलाई प्रहरीले नै आरोपीको परिवारसँग ‘मिलाएर’ पठाएको पाइएको छ।
त्यति बेला प्रहरीले उनको जाहेरी दर्ता मात्र गरेन, उनलाई बलात्कार पीडितका रूपमा सांकेतिक नाम दिनुका साथै स्वास्थ्य परीक्षणका लागि अस्पतालसमेत पठायो। तर त्यसपछि अनुसन्धान अघि बढाउनु त परै जाओस्, प्रहरीले उनको जाहेरी नै ‘गायब’ पारिदियो । यसरी प्रहरी अधिकारीहरूले कानुनबमोजिम ड्युटी निर्वाह नगर्दाको भुक्तमान बनेकी बिनु यादव चार वर्षपछि पनि उक्त घटनाले उत्पन्न गराएका थप पीडा झेलिरहेकी छन्।