✍️ नितेश खनाल, धरान । धरान ११ स्थित क्याम्पसले भोगचलन गरिरहेको कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गाको स्रेस्तामा मोही डम्बरबहादुर घिमिरे छन् । उनको मृत्यु भइसकेको छ । करिब ३ बर्षअघि मृतक घिमिरेका छोरा यज्ञबहादुर क्षेत्रीले भुमिसुधार कार्यालय इनरुवामा मोही हक नामसारीको निवेदन दिएका थिए । उनको निवेदन पछि क्याम्पसले मोही लगत कट्टाको निवेदन दिएको थियो ।
भुमिसुधारले गत असोज २५ गते मोही हक छोरा यज्ञबहादुरको नाममा नामसारी गरिदिने फैसला गरेको थियो । उनलाई मोही हकको जग्गा दिलाउन भुमाफियाहरु सक्रिय भएका छन् । कानुनतः जग्गाको ५० प्रतिशत मोहीले पाउछन् ।
यसै बिषयलाई आधार बनाएर विद्यार्थी संगठनहरुले आज दिउँसो क्याम्पस प्रमुख दामोदर भण्डारीको कुर्सी जलाएका छन । उनीहरुले क्याम्पसका जमिन अतिक्रमण हुनबाट जोगाउन “जमिन संरक्षण संघर्ष समिति” बनाएर क्रमिक रुपमा आन्दोलन गर्ने घोषणा पनि गरेका छन् ।
मोहि हकमा पाउनु पर्ने जमिनभन्दा ज्यादा जमिन क्याम्पस प्रशासन, जनप्रतिनिधि र भुमाफियाबीच मिलेमतोमा प्रदान गर्न लागेको विद्यार्थी संगठनका पदाधिकारीहरुको भनाई छ । संगठनका पहलमा मंगलबार(भोली) क्याम्पसका जमिनको बिषयमा सत्य तथ्य कुराहरु सार्वजनिक गर्न सबै पक्षसँग छलफल राखिएको पनि बताए ।
निवर्तमान स्ववियू सभापति सागर चेम्जोङले पनि क्याम्पस प्रशासनकै कमजोरीले करोडौंको जग्गा गुम्ने अवस्थामा पुगेको बताए । क्याम्पस प्रशासनले ११ पटक तारेख धाएको, ३ पटक मुद्दाको पेशी चढ्दा पनि बहस गर्न वकिल नपठाएको भन्दै शंका गर्ने तार्किक प्रमाण पेश गर्दै उनले क्याम्पस प्रशासनलाई यस घटनाको मुख्य योजनाकार रहेको बताउदै आन्दोलन गर्नु परेको बताए ।