✍️ राजा माबो
गायीका निरु निर्मला चौहानसंग झापा बुलेन्टिनका स्तम्भकार राजा माबोले गरेको छोटो कुराकानी ।
१) हजुर नमस्कार! आराम हुनुहुन्छ?
– हजुर नमस्कार! आरामै छु अहिलेसम्म त भनम ।
२) लक डाउनलाई कसरी अनुभव गर्नु भयो? दिनहरु कसरी बितिरहेका छन्?
– यो अनुभव म लगायत विश्वभरीका मानिसका लागि नौलो अनुभव हो । सुरु-सुरुका दिनहरुमा निक्कै त्रसित र तनावग्रस्त दिनहरु बिते तर केही दिन पछि घरमै बसेर संगीत प्रेमी विभिन्न समुहसंग सांगीतिक भलाकुसारी र संगीत अभ्यासमै रमाईलोसंग दिनचर्या बिते तर यसो भनि रहदा कतिपय मनिसहरुले यो लक डाउनमा अलि कष्टकर जीवनयापन गर्न परेको देख्दा र सुन्दा अति नै पीडाबोध पनि गरियो तर विश्व नै यस्तै पिडाले पिरोलिएको सुन्दा जबर्जस्ती मन बुझाउन बाध्य भएर केही समय देखि घरमै बसेर अनलाईन क्लास लिदै घरैमा संगीत साधनामा समय बितिरहेको छ । साँच्चै भन्नू पर्दा व्यस्ततामै समय बितिरहेको छ ।
३) हजुरको बाबा, आमाको शुभनाम? हजुरको जन्मस्थान?
– म पिता डम्बर बहादुर चौहान र आमा लीला चौहानको जेठी छोरी हु । मेरो जन्म स्थान ताप्लेजुङ्गको सादेवामा भएको हो । हुर्केको, बढेको, पढेको चाहि आंखोप हो । हालको सिदिङ्वा गा.पा.वडा न.-३ मा पर्दछ ।
४) अब आउन लागेको नयाँ सांगीतिक कोसेलीहरु केही छन्?
– नया संगीतिक कोसेली पक्कै आउने छ, भरसक तीज पछि ।अलि यो कोभिडले अप्ठ्यारोमा पारेको छ तर छिट्टै आउने केही समय धैर्य गर्नु होला ।
५) संगीत साधनामा लाग्नु भएको कति समय भयो? हालसम्म कति ओटा गीतमा स्वर दिई सक्नु भएको छ?
– साधना भन्नाले जति भित्री मनमा साधना प्रतिको सोच थियो, त्यसरी निरन्तरता दिन पायिन तर संगीतमा औपचारिक रुपमा ५९ साल देखि हो । त्यसपछि कुनै न कुनै तरिकाले अभ्यास गरि नै रहे तर ११ बर्ष ग्याप पछि अहिले ७३ साल देखि निरन्तर यसैमा लागेको छु । हालसम्म २२ ओटा गीतहरुमा स्वर दिएको छु । जसमा कतिपय गीतहरु युट्युबमा पाईन्न कारण त्योबेलामा अहिलेको जस्तो अहिलेको जस्तो ईन्टरनेटको प्रविधि नै थिएन ।
६) गीत संगीतलाई कसरी बुझ्नु भएको छ? संगीत र जीवनको कस्तो सम्बन्ध रहन्छ?
– गीत संगीत भन्नाले मेरो आफ्नो विचारमा, जीवनका हरेक दुख र सुखका कथालाई भावनामा व्यक्त गर्नुलाई गीत संगीत भनिन्छ, तर संगीत भन्नाले सिक्नु, सुन्नु, साधना गर्नु मात्रै संगीत होभन्ने बुझाई छ । जीवन दु:ख र सुखको संगम होभने संगीतले जीवनमा परेका हरेक पीडालाई meditation pain relif गरेर शान्ती प्राप्त गर्ने स्रोत हो जस्तो मलाई लाग्छ ।
७) हजुरको पहिलो गीत? कति सालतिर रेकर्ड भएको थियो? त्यी पुराना दिनहरुलाई कतिको सम्झनु हुन्छ?
– मेरो पहिलो गीत गून्यु चोलीमा २०५९ सालमा श्रद्धा रेकर्डिङ्ग स्टुडियोबाट रेकर्ड गरेको हुँ । अप्ठ्यारो नपारौ होला बिगत सम्झेर बर्तमानलाई (मुसुक्क मुस्कुराउदै)
८) सबैलाई थाहा नभएको तर कला संगीतमा हजुरलाई अनुभव भएको केही महत्वपुर्ण र गोप्य कुरा बताई दिनुहुन्छ कि?
– थाहा नभएको भन्दा पनि कला संगीत महत्वपुर्ण र अमुल्य नै लाग्छ मेरो विचारमा “त्यो हो ईमान्दारिता” यदि कला या गीत संगीतमा सस्तो लोक प्रीयताको लागि इमान्दारिता गुमाउनु भनेको कला या सो क्षेत्रबाट छिटो पलायन हुनु हो । जुन जीवनसंग पनि अति महत्वपुर्ण रुपमा जोडिएको छ । कलाकार या जो कोहिलाई पनि सो क्षेत्रमा सम्मान पाउन र टिकाउ हुनका लागि इमान्दारिता खाचोँ हुन्छ ।
९) मैले सोध्न भुलेको केही भए कृपया?
– अब साघुरो कुराकानी कोरा कागज जन्मे देखि अहिलेसम्मको कुरा अनुभव यहाँ राखेर के साध्य हुन्छ र तर जुन गीत संगीतको बिषयमा गरिएको कुराकानीमा मैले भन्नै पर्ने कुरा चाहिँ जो जतिले गीत संगीतमा लाग्ने सोचमा हुनुहुन्छ अवश्य सिकेर मात्रै यो क्षेत्रमा आउनु होस भन्न चाहान्छु ।
१०) अमुल्य समय र महत्वपुर्ण गफगाफको निम्ति यहाँलाई मेरो व्यक्तिगत र झापा बुलेन्टिनको तर्फबाट हार्दिक धन्यवाद दिन चाहान्छु ।
– मलाई पनि केही अनुभवहरु पोख्ने अवसर दिनु भयो त्यसका लागि यहाँ लगायत झापा बुलेन्टिनलाई हार्दिक कृतज्ञता प्रकट गर्दछु ।