✍️ राजा माबो

झापा । चर्चित गायक तथा संगीतकार बिनोद खम्बुसंग झापा बुलेन्टिनका स्तम्भकार राजा माबोले गरेको छोटो कुराकानी:-

१) हजुर नमस्कार! आराम हुनुहुन्छ?
– नमस्कार! आराम छु ।

२) लक डाउनलाई कसरी अनुभव गर्नु भयो? दिनहरु कसरी बितिरहेका छन्?
– लकडाउनले यमराज नै घरको गेट अगाडि लिन आएको फिल गरायो । यस्तो संकटकालिन अवस्थामा पनि दिनचर्याहरु हल्का संगीतमय रह्यो ।

३) हजुरको बाबा, आमाको शुभनाम? हजुरको सृष्टि यो रहस्यमय संसारमा कहिले र कहाँ भएको थियो?
– मेरो बाबाको नाम तिल बहादुर राई र आमाको नाम मन्ती राई हो । मेरो जन्म मोरङ्गमा भएको हो ।

४) स्रोता दर्शकहरुले हजुरलाई रकस्टार भनेर चिन्दा रहेछन् हजुरलाई कस्तो लाग्छ? तत्काल आउन लागेको नयाँ सांगीतिक कोसेलीहरु हजुरको केही छन्?
– दर्शकहरुले माया-ईज्जतको साथ रकस्टार भन्नू हुदा मलाई खुशी लाग्छ तर म आफुले आफुलाई कहिले रकस्टार सम्झिन्न एउटा सिम्पल संगीतकर्मी मात्र सम्झन्छु । काम गर्दै जादा दर्शक श्रोताले कहिले ताली पनि दिन्छन्, कहिले गाली पनि गर्छन । एक पछि अर्को गर्दै मेरो संगीतमा केही संख्यामा गीतहरु आउदैछन् । म आफैले गाएको गीतहरु पनि आउदैछन ।

५) हालसम्म कति ओटा गीतमा स्वर र संगीत दिईसक्नु भयो नि? गाउन सजिलो हो कि संगीत गर्न सजिलो हो?
– मैले कतिवटा गीत गाए, कतिवटा गीतमा संगीत गरेभन्ने संख्यात्मक हिसाबमा म कहिले काम गरेको छैन । नयाँ गीतहरु कति आउछन्, जान्छन् कहिले गनेको नै छैन ।
…..मलाई गाउनु भन्दा संगीत पक्ष अलि गाह्रो लाग्छ ।

६) गीत संगीतमा आउनु भएको कति समय भयो? गीत संगीत बिनाको जीवन कस्तो होला?
– २०६६ सालबाट कला संगीतमा व्यवसायिक रुपले आएको हुँ । गीत संगीत बिनाको जीवन नून बिनाको तरकारी झैँ लाग्छ ।

७) हजुरको पहिलो गीत कति सालतिर रेकर्ड भएको थियो? त्यी पुराना दिनहरुलाई कतिको सम्झनु हुन्छ? आफ्नै मन परेको कुनै एक गीतको नाम लिन पर्दा?
– वि.सं. २०५४ सालमा मेरो पहिलो गीत रेकर्ड गरेको थियो । त्यी दिनहरु सम्झदा अहिले सपना जस्तै लाग्छ । मेरो आफ्नो गीत त सबै नै राम्रो लाग्छ, जस्तै बसमा छैन यो मन(फ्लिमको), छाडी जाने भए तिमी (मेलीना राईले गाउनु भएको) झझल्को आईरहन्छ (मैले र पार्बती राईले गाएको) र मेरै स्वरमा रहेको झनझन खायो झनझन मीठो लगायतका गीतहरु मेरो मन मुटुमा बसेको छ ।

८) सबैलाई थाहा नभएको तर कला संगीतमा हजुरलाई अनुभव भएको केही महत्वपुर्ण र गोप्य कुरा बताई दिनुहुन्छ कि?
– त्यस्तो केही छैन गोप्य कुरा तर एउटा कुरा चाहिँ संगीतमा पनि चलखेल गुठबन्दी हुदोरहेछ संगीतको सिण्डिकेट आदि ।

९) मैले सोध्न भुलेको केही भए कृपया?
– करिब सबै सोधिसक्नु भयो होला सायद, केही बाँकि रहेको भए अर्को अन्तर्वार्तामा भन्नेछु (गजबको हाँसो हास्दै) ।

१०) अमुल्य समय र महत्वपुर्ण गफगाफको निम्ति यहाँलाई मेरो व्यक्तिगत तथा झापा बुलेन्टिनको तर्फबाट हार्दिक धन्यवाद दिन चाहान्छु?
– हजुर यहाँलाई र झापा बुलेन्टिनलाई समेत मेरो तर्फ धन्यवाद साथै मेरो प्यारो श्रोताहरुलाई कोटि कोटि नमन ।

(गायक तथा संगीतकार बिनोद खम्बु हालको चर्चित तथा शक्तीसाली संगीतकर्मी हुन । उहाँसँग भलाकुसारी गर्ने राजा माबो झापा बुलेन्टिनका प्रतिनिधि, स्तम्भकार, कवि तथा गीतकार समेत हुन्।)

Facebook Notice for EU! You need to login to view and post FB Comments!