झापा । ताप्लेजुङ्गको ईखाबुमा जन्मीएर बेलायतलाई कर्मभुमी बनाएर नेपाली साहित्यमा कलम चलाउदै आएकी एक सशक्त महिला हस्ताक्षर साहित्यकार जानू काम्बाङ्ग लिम्बुसंग झापा बुलेन्टिनको स्तम्भकार राजा माबोले गरेको छोटो कुराकानी ।
१) हजुर नमस्कार! आराम हुनुहुन्छ?
– नमस्कार अहिले सम्म त बाँचीएको छ भन्नु पर्ला धन्यवाद ।
२) लकडाउनलाई कसरी अनुभव गर्नु भयो? हाल कुन ठाँऊ (देश परिवेश) मा हुनु हुन्छ? दिनहरु कसरी बितिरहेका छन्?
– मेरो लकडाउन त एकदम व्यस्तमै बित्यो र बित्दैछ भन्नु पर्ला, गएको केहि महिना कोभिड १९ संग लुकामारी खेल्दै बित्यो, अहिले मर्ने बिमारी मरि गए बाँचेकाहरूको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि भने ढुक्क भएका छौँ । स्वास्थ्यक्षेत्रमा काम गर्नेहरूलाई लकडाउन त होइन स्टाफहरू पनि संक्रमित भएपछी कामको चाप बढेको महसुस भो । हाल चाहिँ म बेलायतमा बस्छु । स्वास्थ्यकर्मी हुँ पेसाले ।
३) हजुरको बाबा,आमाको शुभनाम? हजुरको जन्म कहिले र कहाँ भएको थियो होला?
– मेरो बाबाको नाम टेक बहादुर काम्बाङ्ग लिम्बू र आमा सम्रोती फेम्बु लिम्बू होभने मेरो जन्म स्थान तमोर खोला ईखाबु ताप्लेजुङ्गमा भएको हो ।
४) हजुरको गीत लगायत अन्य कृतिहरु निरन्तर आईरहेका छन्? तत्काल आउन लागेको नयाँ कोसेली कृति केही छन् हजुरको?
– खासै त छैन एउटा यात्रा संग्रह र उपन्यास सम्पादनमा छन् । गीत चाँही किताब निकाली सकेपछि लेख्ने सोच गरेको छु ।
५) कला साहित्य संगीत साधनामा लाग्नु भएको कति समय भयो? हालसम्म कतिओटा कृतिहरु साहित्यको बगैचाभित्र रोप्नु भएको छ नि?
– यकिन छैन कहिलेदेखि लगियो सानैदेखि नोटबुकतिर साईरी लेखिन्थ्यो । उपन्यासहरू पढिन्थ्यो, कथा कविता पढ्न मन लाग्थ्यो सायद त्यहि बेला भित्र-भित्रै मनमा साहित्य उम्रि रहेको थियो तर बाहिर निस्किन चाँही पछि देश छाडेर हंगकंग पुगेपछि मैले लेख्न सुरु गरेँ । मेरो पहिलो कृति कविता संग्रह ”सिविरमा ईश्वर” गीति एल्बम ”अनुभब” २०७२ / कथा संग्रह ”नऊघ्रेको जून” र ”जानु एल्बम” २०७५ / गीति संग्रह किताब ” आँसुको लय” २०७६, छन् ।
६) कला, साहित्य, संगीतलाई कसरी बुझ्नु भएको छ?कला, साहित्य, संगीत र जीवनको कस्तो सम्बन्ध रहेको पाउनु भएको छ नि?
– छोटकरीमा भन्नु पर्दा कला, साहित्य र संगीत जीवन हो, यी तिनै चिज जीवनसँग सम्बन्धित छन् ।
७) हजुरको पहिलो गीत कति साल तिर रेकर्ड भएको थियो? त्यी पुराना दिनहरुलाई कतिको सम्झिनु हुन्छ?
– तारा प्रकाश लिम्बूको संगीत, प्रमोद खरेलको स्वरमा २०७२ सालमा रेकर्ड भएको मैले गर्ने विश्वासमा खोट पाएँ आज बोलको गीत हो जुन गीत मेरो पहिलो एल्बम अनुभवमा समेटिएको छ । त्यतिबेला त्यो रेकोर्ड भएको गीत पहिलो पल्ट सुन्दा धरधरी रुएको थिए । गीत पनि सेन्टिमेन्टल थियो । पटक पटक सुने ।
८) साहित्यको कुन विधा हजुरलाई प्रीय लाग्छ? अथवा स्रोता पाठकले आफुलाई के भनेर बुझिदिए हुने थियो जस्तो लागेको छ?
– भन्न त मलाई गीतकार भनेर चिन्छन्, अलिअलि कविता पनि लेख्ने हुनाले कतिले कवि पनि भन्छन् तर म आफैलाई चाहिं आख्यान विधा मन पर्छ । अहिले पछिल्लो पल्ट धेरै समय आख्यानमै खर्चिएको पनि छु तर पनि मलाई पाठकले यसै भनोस भन्ने चाँही नसोचेको भएर होला जे भने पनि ठिकै लाग्छ ।
९) सबैलाई थाहा नभएको तर नेपाली साहित्य जगतमा सशक्त महिला हस्ताक्षरको रुपमा उभिएर कलम चलाईरहदा हजुरलाई अनुभव भएको केही महत्वपुर्ण र गोप्य कुरा बताई दिनुहुन्छ कि?
– तेस्तो त केहि पनि छैन । म अलिक आफ्नै धुनमा रमाउने मान्छे भएर पनि होला त्यस्तो केहि महसुस गरेकी छैन तैपनि कहिले कहिँ लाग्छ, हामीले गरेका कतिपय कामहरू अग्रजहरूका निम्ति अपत्यारिला हुँदो रैछ । खैर केहि छैन सिर्जना भनेको आत्माबाट अथवा मनबाट सृजित हुने कुरो हुन् फुरेपछी नलेखी बस्न सकिन्न त्यसैले पनि लेखि रहन्छु । वास्तवमा सिर्जना सबै सन्तान हुन् । कति राम्रा स्वस्थ जन्मिन्छन्, कति अस्वस्थ । सबैले मन पराउनु पर्छ भन्ने पनि छैन आफैलाई सन्तुष्टि मिले भो ।
१०) मैले सोध्न भुलेको केही भए कृपया बताई दिनु हुन्थ्यो कि?
– सोध्नु पर्ने सबै सोधिसक्नु भो, केहि बाँकी छ जस्तो लागेन। कोरोना महामारीले गर्दा यो बर्ष राम्रो छैन । छेउमै आईरहेका चाडबाडहरू पनि रित्तै हुने भए । यस्तो कठिन परिस्थितिलाई सामना गर्न सक्ने शक्ति ईश्वरले सबैलाई प्रदान गरुन् भनि प्रार्थना गर्दछु ।
११) अमुल्य समय र महत्वपुर्ण गफगाफको निम्ति यहाँलाई मेरो व्यक्तिगत र झापा बुलेन्टिनको तर्फबाट हार्दिक धन्यवाद दिन चाहान्छु ।
– सर्वप्रथम तपाईं र झापा बुलेटिनलाई आफ्नो मनको कुरो राख्ने मौका दिनु भएकोमा धेरै धेरै धन्यवाद व्यक्त गर्दछु । हजुरहरूको यो झापा बुलेटिन डटकम ले हरेक खुड्किलाहरू पार गर्दै धेरै माथि पुगोस, अनि कवि, गीतकार तथा पत्रकार राजा माबो ज्युको यो नयाँ यात्रा अथवा पत्रकारितामा धेरै सफलता मिलोस सुभकामना।
(साहित्यकार जानू काम्बाङ्ग लिम्बू नेपाली साहित्यमा कलम चलाईरहेकी एक ससक्त महिला हस्ताक्षर हुन्, हाल बेयालयमा रहेकी छिन् । यो अन्तर्वार्ता झापा बुलेटिनको पत्रकार तथा स्तभकार राजा माबो लिनु भएको हो । राजा माबो चर्चित कवि तथा गीतकार समेत हुन।)