✍️ चोमु शेर्पा “खुशी”
नमस्ते हजुर
म यहाँकै बासिन्दा हुँ
मलाई यहिँकै रहन दिनुहोस्
भनेर बिन्ती चढाउनलाई
आज म सँग विनम्रता छैन सरकार
तपाईं बुझ्नुहोस
मैले आधा पेट खाएर
आधा च्यातिएर टालेको जाङ्गे लाएर
यहिँ माटोको छातीमा
यहि आकाशको छानो ओढेर
आधा निन्द्रा निदाएर
मेरो सपनालाई उर्बर बनाएकी हुँ
कयौं बित्ता रहरहरुको किल्ला कल्पेर
मेरो परिवारको एक अञ्जुली खुशी अल्झाउनलाई उभ्याएको
महत्त्वपूर्ण छाप्रो हो यो!
यहीँ माटोमा अडिएको छ आधा प्राण
यहीँ बाँझोमा खियाएको छु नङ्ग्रा
यसैमा सिम्पिएको छु आधा जवानी
आँसु हाँसो रोदन खुन पसिना
सबै सबै यो स्थान सँग समिश्रण गरेकी छु
मेरो सहनशीलताको परिक्षा नलिनोस सरकार
ज्ञात होस्
भद्रताको पराकाष्ठा बिद्रोह पनि हुन्छ
हाम्रो खुशीमा गिद्दे नजर लगाएर
तपाईं आदेश दिनु हुन्छ
बस्ती बिस्थापित गर्ने
यो जिन्दगीको उत्तरार्धमा पुग्दा सम्ममा
थोपाथोपा पसिनाले स्थापित गरेको एक टुक्रा खुशी
कसरी लाग्यो तिमिलाई यति सहजै सुम्पन सक्छु ?
कम्तिमा यो भ्रमबाट मुक्त हुनुहोस्
अब यो सुकुम्बासीको मगजमा
अनुनय विनय र बिलौनाको कण रहेन
बर्षौंदेखी सयौंको दलालीमा जोडिएको यो हात
न्याय र मुक्ती हाँसिल गर्ने सवालमा सवार भएको छ
पासो थाप्नु अघि हेक्का राख्नु
सिकारी हो
आफैं परिएला!