✍️ कवि राजा माबो
आफ्नै राज्यमा राजा माबो शरणार्थी
आफ्नै करेसामा राजा माबो सुकुम्बासी
थुईईईक्क्क राजा माबो ।
रक्सीको आहालमा
सुंगुरको फिला सिरानी हालेर
घाम,पानी,दिन,रात नभनि
न औसी न पुर्णे
खोलोले बगाओस कि पैरोले लैजाओस,
केहि वास्ता नगरी
अनिकालको ढिकी लडेझै लम्पसार पसारीएर
युगौ देखि मस्त निन्द्रामा निदाई रहेको छ
भुस राजा माबो
थुईईईक्क्क राजा माबो ।
मानौ,
निन्द्राको कुक्करमा एक सिटी लाग्या छैन
सपनामा झलझली छ छेतछेती छ
उहि तिनपाने रक्सी,सुंगुरको मासु
जुवाको खाल,दाजुभाई काट्ने सिरुपाते खुकुरी
अनि,विदेशी पल्टनको रवाफ,टिलीक्क तक्मा
सायद त्यहि हो राजा माबोको सपनाको स्वर्ग
राजा माबो,मस्त निन्द्रामा युगौ देखि भुस छ
थुईईईक्क्क राजा माबो ।
पहिरोले आफ्नो भाषा बगायो
संस्कारको झ्याल ढोका मक्कियो
पस्चिमी तुफानी बतासले संस्कृती सोत्तर पार्यो
बाबुको छाता,टोपी,घडी,जुत्ता लुटीयो
आमाको छातीमा भक्क भक्की कुल्चीयो
राणाको डढेलोले मुन्धुम खरानी पार्यो
कुनै स्वाद छैन राजा माबो मस्त निन्द्रामा भुस छ,
थुईईईक्क्क राजा माबो ।
यदि,
म म तागेरा निवाभु मांङ् भैदिएको भए,
कपाल सपाल भुत्लाई दिन्थे
म श्रीजंगा भैदिएको भए,
तमोर,काबेलीको चिसो पानीमा लगेर चोब्थे
म ईमानसिं चेम्जोगं भैदिएको भए,
लात्तै लात्ताले भुगुत्ती खेलाई दिन्थे
राजा माबो युगौ देखि मस्त निन्द्रामा भुस छ
सपनाको स्वर्ग देखिरहेको छ,
थुईईईक्क्क राजा माबो ।
आफ्नै राज्यमा राजा माबो शरणार्थी,
आफ्नै करेसामा राजा माबो सुकुम्बासी ।