पाँचथरको फालेलु–५ स्थित डाँडागाउँमा बम विस्फोट हुँदा दुईजना नाबालकले ज्यान गुमाए । मृत्यु हुनेमा ११ वर्षका दिपस्न साँवा र दुई वर्षीय प्रियसा साँवा छन् ।
डाँडागाउँस्थित आइतराज केरुङको घरमा भेटिएको बम नाबालकहरूले खेलाउँदा विस्फोट भएको आशंका गरिएको छ । युद्धकालमा ल्याएर सो घरमा राखेको बम अहिले विस्फोट भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । विस्फोट भएको घरका एकजना पूर्वलडाकु हुन् । घरधनी त्यहाँ बस्दैनन् । छिमेकीलाई घरको रेखदेख गर्न भनेर उनीहरू घर छाडेर हिँडेका थिए ।
बम पहिलादेखि नै सो घरमा रहेको अनुसन्धानबाट खुलेको कोशी प्रदेशका डीआईजी चन्द्र कुबेर खापुङले रातोपाटीलाई बताए । उनले भने, ‘युद्धमा प्रयोग भएको बम मिसप्लेस भएर अहिले दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ ।’
अहिले विस्फोट गराउने उद्देश्यले बम राखेको पुष्टि नभएको डीआईजी खापुङको भनाई छ । बम कम्पनी मेड जस्तो देखिएको छ । डाँडागाउँस्थित सो घरमा अर्को पनि बम भेटिएको छ । सैनिक टिमले थप भेटिएको एकथान बम निष्क्रिय बनाएको छ । डीआईजी खापुङ भन्छन्, ‘विस्फोट हुँदा टुक्रा नउछिट्टिएको हुनाले युद्धकालमा उज्यालोका लागि प्रयोग गर्न खरिद गरेको आशंका छ ।’
काठमाडौँ र धनगढीमा कसले राख्यो शंकास्पद बस्तु ?
पछिल्लो समय काठमाडौँको बलम्बु र कैलालीको धनगढीमा शंकास्पद बस्तु भेटिएको छ । त्यस्ता शंकास्पद बस्तुहरू अराजकता फैलाउन खोज्नेहरुले राखेको हुनसक्ने आशंका गरिएको छ । तर, आरोपीहरू पक्राउ गर्न नसक्दा त्यस्ता गतिविधि गर्नेहरुसम्म प्रहरी पुग्न सकेको छैन ।
धनगढीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास अगाडि भदौ ९ गते शंकास्पद बस्तु भेटियो । धनगढी उपमहानगरपालिका–४ स्थित कर्मचारी संचयकोष नजिकै भेटिएको शंकास्पद बस्तु नेपाली सेनाले निष्क्रिय पारेको थियो ।
पुरानो झोलामा तार बेरिएको अवस्थामा भेटिएको शंकास्पद बस्तु राख्नेलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । मोटरसाइकलमा आएर दुईजनाले झोला छाडेको सीसीटीभी फुटेजमा देखिन्छ ।
शंकास्पद बस्तु राख्नेहरुबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्र बोहराले रातोपाटीलाई बताए । उनले भने, ‘कुन उद्देश्यले र कसले राख्यो भन्नेबारे आरोपी पक्राउ गरेपछि मात्र थाहा हुन्छ ।’
भदौ ६ गते काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ स्थित बलम्बु मावि नजिकै शंकास्पद बस्तु फेला परेको थियो । सेनाको बम डिस्पोजल टोलीले सो शंकास्पद बस्तु डिस्पोज गरेका हुन् ।
घटनास्थलमा रित्तो प्रेसर कुकर राखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । घटनास्थलको सीसीटीभी फुटेज अनुसार एकजना युवकले झोलामा लगेर कुकर राखेको देखिन्छ । चोरी गर्नेहरूले कुकर राखेर हिँडेको प्रहरीको आशंका छ ।
शंकास्पद बस्तु छाडेर हिँड्ने व्यक्ति अहिलेसम्म पक्राउ परेका छैनन् । घटनाको कारण नखुलेको र संलग्नबारे अनुसन्धान भइरहेको प्रहरी वृत्त थानकोटका इन्स्पेक्टर किरण सापकोटाले रातोपाटीलाई बताए । उनले भने, ‘घटनाबारे अनुसन्धान हुँदै छ ।’