बझाङमा गत मंगलबारको भूकम्पपछि परकम्प जाने क्रम जारी छ । गएराति पनि दुई पटक परकम्प गएको रेकर्ड छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको रेकर्ड अनुसार गएराति चैनपुर आसपास केन्द्रविन्दु भएर १० बजेर ५२ मिनेटमा ४.५ र १२ बजेर २३ मिनेटमा ३.९ म्याग्निच्युडको परकम्प गएको छ । केन्द्रका अनुसार मंगलबारयता तीन सयभन्दा धेरै साना–ठूला परकम्प गएका छन् ।

गत मंगलबार बझाङको तालकोट केन्द्रविन्दु भएर ५.३ र चैनपुर केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले अहिले पनि परकम्प जाने र धक्का महसुस भइरहेको जानकारी दिए । ‘मंगलबार छिटो–छिटो र अलि बढी नै धक्का महसुस हुन्थ्यो तर अहिले पनि त्यस्तो अलि कम भएको छ,’ प्रमुख जिल्ला अधिकारी पाण्डेयले भने, ‘तर धक्का दिने क्रम जारी छ ।’
घर पूरै भत्किएकाहरु अहिले पनि सार्वजनिक स्थानमा टेन्टमुनि बसिरहेका छन् । भूकम्प प्रभाविहरुलाई राहत बाँड्ने क्रम जारी छ । प्रदेश सरकारले उपलब्ध गराएको राहत बिहीबार बझाङ पुगेको छ । आज केन्द्र सरकारले उपलब्ध गराएको राहत ट्रक मार्फत् जिल्ला आउँदै गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए । त्यसअघि रेडक्रस लगायतका संघसंस्थाले टेन्ट र केही खाद्यान्न प्रभावितहरुलाई उपलब्ध गराएका थिए । राहत वितरण एकद्वार प्रणालीबाट भइरहेको छ ।

भूकम्पबाट कति प्रभावित भए र क्षतिको अवस्था कस्तो छ भनेर अझै पनि एकिन भइसकेको छैन । भूकम्पमा परी १ जनाको मृत्यु र २० जना घाइते भएको विवरण भए पनि भौतिक पूर्वाधारतर्फ भएको क्षति एकीन भइसकेको छैन ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!