बिर्तामोड । लागूऔषध र देह व्यापारमा संलग्न भएको आरोपमा बिर्तामोडमा बालक र किशोरकिशोरी गरी १७ जनालाई स्थानीयबासीले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन् ।
लागूऔषध सेवन गरेर रातदिन होहल्ला गर्ने, सार्वजनिक स्थलमा अश्लिल गतिविधि गर्ने गरेपछि समाज सुधार अभियानअन्तर्गत बिर्तामोड ५ स्थित सुगमटोल गणपति मार्गका टोलवासीहरुले लागूऔषध प्रयोगकर्ता, देह व्यापारमा संलग्नहरूलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएको स्थानीय विपिन बजगाईँले बताए ।
सोमबार बिहान ७ बजे टोलका सचेत नागरिक, जनप्रतिनिधि र प्रहरीको सहयोगमा स्थानीयहरूले सुगम पेट्रोल पम्प पूर्वको खाली ठाउँ र बसपार्क दक्षिणको खाली ठाउँको झाडीबाट उनीहरूलाई पक्राउ गरेका थिए । बिर्तामोड ५ नम्बर वडा लागूऔषध र देह व्यापारको केन्द्रविन्दु नै बनेको देखिएको छ ।
पहाडी जिल्ला, पश्चिम जुम्ला घर बताउनेहरु यार्चागुम्बा बेच्ने व्यक्ति बनेर लागूपदार्थ कारोबारमा सक्रिय बन्दै आएको सूचना पाएको र त्यस्ता कानुनविपरीत कार्य गर्नेहरूलाई बिर्तामोडबाट विस्थापित गराई सभ्य र शान्त बिर्तामोड बनाउन नागरिक समाज अग्रसर भएको बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाईले बताएका छन् ।
पक्राउ परेकामध्ये चार जनालाई अभिभावकको जिम्मा लगाइएको छ भने बाँकी १३ जनालाई बिर्तामोड ५ स्थित क्षितिज महिला सुधार गृहमा राखिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले जानकारी दिए ।
Facebook Notice for EU! You need to login to view and post FB Comments!