✍️ जानू काम्बाङ्ग लिम्बु
झापा । बेलायतबाट हिंड्ने बेला साथीहरुलाई यसपल्ट दार्जिलिङसम्म घुम्न जाने बताएकी थिएँ । भेडेटार त नेपाल आएपिच्छे नघुमी मनै नमान्ने । तर, सोचेजस्तो भएन यसपल्ट । घुम्ने सारा सपना मनभित्रै गुम्साउनु पर्यो । यति हो छोटो पारिवारिक भेटघाटका लागि धरानसम्म पुगें । यो घुमाई गाउँमै हुर्किएकी मेरो लागि कस्तो भयो भने—पल्लो घरमा आगो लिन गए जस्तो ।
जब म धरान पुग्छु, मलाई लाग्छ यो पनि म सँगसँगै दौडिरहेछ । म तरुनी हुँदा ऊ बच्चै थियो । अहिले म बूढी हुँदा ऊ मस्त तरुनी छे । हरेक साँझ उसलाई चुमेर निदाउने साँगुरी भञ्ज्याङ, पञ्चकन्या र भेडेटार डाँडा उसँग अनेक रङ बदल्दै मस्त छन् । उसलाई चुम्न विजयपुर डाँडा पनि सर्दैसर्दै बाँझोगराको भित्तासम्म आई पुगेछ ।
०४६—४७ सालतिर हामी सदन स्कुल पढ्दा यस माथिको क्षेत्र पूरै हरियाली जंगल थियो— एक्लै उक्लिन पनि डर लाग्ने । अहिले त्यहाँ विदेशी ढाँचाका रङ्गीचङ्गी घरहरुको जंगल पलाई सकेछ । नयाँ—नयाँ बिल्डिङ सामु ‘श्री शिक्षा सदन माध्यमिक विद्यालय’ पुरानो साइन बोर्ड र खिया लागेको च्यादरको छानोमा लाज छोपेर बसे झैं देखिन्छ । हामीले लाइन लागेर ‘श्रीमान् गम्भीर नेपाली …’ पुरानो राष्ट्रगान गाउने प्रांगण र नौ कक्षाकोठा अगाडिको ओरालो झर्ने बरन्डा पनि अझै उस्तै रहेछ । हामीलाई कखरा सिकाएर परिवर्तनको उज्यालो बाटोतिर धकेल्दाधकेल्दै बिचरा हाम्रो स्कुल भने उही रङ खुइलिएका भित्ता र भत्किन लागेका झ्यालढोकासँग निरसनिरस बसिरहेछ ।
उस्तै रहेछ स्कुलको गेट र त्योसँगै जोडिएको सडक पनि । जहाँ, हरेक दिन एक जना मधेसी दाइ ठेलागाडा अड्याएर हाजिर हुन्थ्यो । खैनी माड्दै हामीलाई चटपटे र आलुनिम्की बेचेर गुजारा चलाउँथ्यो । उसलाई हामी ‘दारे भैया’ भनेर चिन्थ्यौं । अझै बिर्सेको छैन मैले, एसएलसी परीक्षा सकिएको अन्तिम दिन उसँग उधारोमा चटपटे खाएथें । त्यो उधारो तिर्दै नतिरी म कहाँकहाँ पुगिनँ ! सायद ऊ पनि कर्मको ठेलागाडामा गुड्दैगुड्दै टाढा पुग्यो । आज उसलाई यहींकहीं टुप्लुक्क भेटे ब्याजको स्याज तिर्थें— त्यो उधारो ।
सडकका पेटीपेटी खुद्रा व्यापार गरेर गुजारा चलाउनेको ओइरो छ धरानमा । ती भीडमा पनि मैले खोजें ‘दारे भैया’लाई, तर भेटिएनन् । के उसको उधारो तिर्ने मौका मलाई यो जुनीमा नमिल्ने हो ?
उहिल्यै स्कुले जीवनमा साँझबिहान ओहोरदोहोर गर्ने गरेको देशी लाइन झिलिमिली भएछ अहिले । नयाँ घरहरुका सामु कुन घर कहाँ छ खुट्याउनै मुस्किल देखें ।
सिङ्गो देशी लाइनमा मेरो पालाको दोकान एउटा भेटें, पुरानो अम्मर फोटो स्टुडियो ! उसले पनि समयको अगाडि घुँडा टेकिसकेछ । उहिले जस्तो फोटोको रिल पानीमा चोबेर फरर्र….झुन्ड्याएर कहाँ सुकाउँदो रहेछ र ? बरु कम्प्युटरबाट आधुनिक पाराले जस्तो मान्छेको फोटो पनि विश्व सुन्दरी जस्तै निकाली दिन पो थालेछ । जे भए पनि नामजस्तै अमर बनिरहोस्— यो स्टुडियो ।
पहिलेको तुलनामा मान्छेको व्यस्तता पनि बढेछ । मानौं, यहाँका मान्छेलाई वरिपरिका हरिया डाँडापाखालाई टाउको उठाएर हेर्नेसम्म फुर्सद छैन । बरु उल्टै डाँडापाखाले सहरको झिलिमिली नियालेर दिन काट्दा हुन् ।
धरान अर्थात् विजयपुर—लिम्बुवानको एक ऐतिहासिक विरासत । यहाँका सुन्दर डाँडा र खोलाहरू नयाँ लिम्बुवानको सम्भावना उचालेर सदीयौंदेखि आफू हुनुको परिचय दिइरहे झैं लाग्छ ।
बुढासुब्बा बाजेले आफ्नो छेउछाउमा चुपचाप थुप्रै सहर बसाएछ । उता पञ्चकन्या डाँडामा एकलौटी राज गर्ने भताभुङ्गे राजाले चाहिं आफ्नो दरबार अझै सम्हाल्न सकेको रहेनछ । उस्तै र उही भताभुङ्ग नै छ । पञ्चकन्या पारि भेडेटारको नागबेली बाटो साँच्ची रमाइलो देखिन्छ ।
वास्तवमा धरान स्वर्गको एक टुक्रा हो । एकफेरो लाहुरेहरूले विदेशबाट कमाई ल्याएको पैसाले सर्लक्कै यसको रुप फेरे । विदेशी प्रविधि र अनुभवले आधुनिक ढाँचामा सिंगारे । तर, अहिले ब्रिटिसगोर्खाले बेलायत बस्ने आवासीय भिषा पाएपछि कतिले घर बेच्दै उतै जान थाले छन् ।
धरान पश्चिममा ठूलो तीर्थस्थल बराहक्षेत्र, दक्षिणमा सप्तकोशी नदी र कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्र छन् । वहुजाति र वहुसांस्कृतिक सहर त हुँदै हो, ब्रिटिस क्याम्प रहेपछि राई, लिम्बु, सुनुवार र याक्खा लाहुरेले आवाद गरेको । कला, साहित्य, संस्कृति तथा खेलकुदको क्षेत्रमा पनि उत्तिकै यसको ख्याति छ । शिक्षा, स्वास्थ्य र पर्यटनको नमूना हो यो । पूर्वाञ्चलको एक प्रमुख वाणिज्य केन्द्र यो अहिले बिपी मेमोरियल हस्पिटलको नामले पनि चिनिन्छ ।
धरानको मुटु भानुचोकमा धुलो खाँदै उस्तै गरी बसेका छन्— कवि उपेन्द्र सुब्बाको ‘भेडेटारको पिकनिक’ कवितामा उधृत भानुभक्त बाजे । कति टेम्पो, रिक्सा, गाडी, साइकल र मोटरसाइकलको ध्वनि प्रदुषणमा बाजेले हातमा बोकेको रामायण किताबबाट ऐतिहासिक धुलो उडिरहे झैं लाग्छ । होइन, कवि सुब्बाले ‘कट्टु नलगाएको आकाश’ देखाएको उपद्रो कविता सम्झेर बाजे स्वयं हाँसेको होला झैं पनि लाग्छ ।
जे होस्, बाजे उभिएको फलामको रेलिङमा खुट्टा राखेर ‘सिट अप’ र ‘हेभिङ’ गर्ने धराने युवाहरु सालिन्दा भर्र्ती जान्छन् । कतिले बाजेकै धर्मसंस्कार विरुद्ध नारा लाउँदै पर्चा टाँस्छन्, ढुङ्गाले हान्छन्, आगो झोस्छन् । तर बाजेले आफ्नो रामायण छोडेका छैनन् ।
भानुबाजेलाई त्यहीं छाडेर म मास्तिर घण्टा घर छेउ हुँदै सब्जी बजारतिर लाग्छु । घाम चर्को थियो, झापामा नपाइने साइँली साग र डल्ले खुर्सानी किनेर बोकेको छु । बेलायतले थि¥याएको मेरो गहुँगोरो निधार घामको रापले आरनमा पोलिएर कुट्न तयार फलामको पाता झैं रन्किएको छ ।
सकी नसकी कुम्लो बोकेकी एकजना बूढीआमा मेरो अगाडि हात पसार्छे, ‘‘चिया खाऊँ लाग्यो नानी मलाई १० रुपयाँ दिनुस् न ?’’ हेर्दा मंगोलियन अनुहारकी । पिरको चुली शिरमा उभ्याएर पहाड हुँदै तराई ओर्ले झैं देखिन्थी ।
जब मैले ब्याग छामें, आमाको अनुहारमा खुशी हिमनदी झैं बगेको देखें । चुपचाप दुई सय रुपैयाँ झिकेर दिएपछिको उनको खुशी हेर्न सकिनँ, यति सुनें, ‘‘मेरो आयु पनि नानीलाई लागोस् ।’’ यो आशीर्वाद लिएर म चुपचापै बाटो लागें ।
घुम्नलाई धरानमा मठमन्दिर र ठाउँहरु प्रशस्तै छन्, यति हो आफूसँग समयचाहिं हुनुपर्छ । दर्शन नै गर्ने हो भने दन्तकाली र पिण्डेश्वरी मन्दिर छन् । प्रकृतिमा रम्न चाहनेलाई अलिक माथि महाभारत पर्वतमा भेडेटार र साँगुरी भञ्ज्याङ छ । नजिकै विजयपुर डाँडा छ । दक्षिणमा चारकोसे झाडी छ ।
तराई र पहाड दुवै तर्फको हावापानी पाइने यहाँ छिनमै घाम लाग्छ छिनमै पानी पर्छ । अहिले घण्टाघर र भूकम्प स्मारक पनि थपिँदा झनै सुन्दर बनेको यो सहरले एकातिर तमोर (मूलघाट), धनकुटा र हिले त अर्कोतिर महाभारत डाँडैडाँडै राम्चे, डाँडाबजार, राजारानी ताल हुँदै पाँचथर, इलामसम्मै पुग्नलाई घुमन्तेलाई सधैं स्वागत गरिरहेकै हुन्छ ।
तर, सबैभन्दा ठूलो आफूसँग घुम्नलाई समय र इच्छाशक्ति हुनुपर्छ । यस पालि मन हुँदाहुँदै पनि समय अभावले मठमन्दिर धाउन र रमाइला ठाउँ घुम्न सकिनँ । पारिवारिक भेटघाटमै धेरै समय व्यतीत भयो मेरो । साइनोसम्बन्ध अनुसार आफन्तीजनसँग सेवा याङ राखेर ढोगभेट गरियो । टन्नै आशीर्वाद पाइयो । सबैले भने ‘‘अझ धेरै प्रगति उन्नति होस् ।’’ आज सोचिरहेछु म, मन्दिर गएर घन्टी बजाइबजाई भेटी चढाइचढाई ढुङ्गाको मूर्ति ढोग्नु फगत् आस्था हो । सबैभन्दा ठूलो तीर्थ मानिसको लागि मानिस नै हो ।
धरानमा रहनुहुने काकाससुरा, साइँला र कान्छा भाइ अनि साइँली र कान्छी नन्दलाई भेटी राखेर हामी बाटो लाग्यौं । सबैले रोक्दै थिए, बस्न मन लाग्दालाग्दै पनि हतारोले हिँड्नु पर्दा मनै कुँडियो । किनकिन धरान मलाई आत्मीय लाग्छ जति बसे पनि मन अघाउँदैन ।
इटहरी पुग्दा दिनको १:३० बजेको थियो । उहिल्यै तरहरा र इटहरी बिचमा खेतै खेत थियो । मङ्सिरमा त्यहाँ लटरम्मै धान झुलेको अझै आँखामा झल्झली छ तर अहिले त्यहाँ पनि कङ्क्रिटको जङ्गल हुर्केछ । ठूल्ठूला बिल्डिङ, उद्योग अनि मिलभित्र यहाँको प्राकृतिक सौन्दर्य अलप भएछ ।
इटहरीको ब्यारेक अघि एकछिन रोकियौं । गीतकार गंगाराज मुकारुङ जीसँग भेट्नु थियो । उहाँ भर्खर ‘लेप्टिनेन्ट् कर्नेल’बाट ‘फुल् कर्नेल’ हुनु भएको थियो । ०४८ सालतिर उहाँ सेकेन्ड् लेप्टिनेन्ट् पदमा कार्यरत हुँदा श्रीजङ गुल्म पाँचथर फिदिममा हाम्रो पहिलो भेट भएको थियो जुन पल्टनमा मेरा बाबा पनि कार्यरत हुनुहुन्थ्यो ।
तर, ‘इलामै सहर चियाबारी राम्रो…’ सुप्रसिद्ध लोकगीतको गीतकार उहाँ नै हो भन्ने मलाई पछि मात्र थाहा भयो । धेरै लामो समयपछि आफ्नो मनपसन्द सर्जकसँग साक्षात्कार हुँदा अर्कै आनन्द लाग्यो । एकदम मिजासिलो, शालीन र सरल व्यक्तित्वका उहाँजस्तो अग्रजसँगको एकैछिनको भेटले पनि ममा थुप्रै ऊर्जा सञ्चार भएको अनुभव गरें मैले ।
इटहरीबाट हिंडेको हामी २:२० तिर पथरी बजार पुगेका थियौं । बाइकमा कुद्दाकुद्दा हैरान हामी यहाँ एकछिन रोकियौं । २५ रुपैयाँमा एक बोतल पानी किनेर पियौं । तीन मुठा साइँली साग ५० रुपैयाँ मुठाले किनेर फेरि बाटो लागेका हामी बिर्तामोड पुग्दा ३:३० बजेको थियो । बाइक राइडर मेरो ज्याङ्गो, बलियो भाइ थियो । उसको ‘फास्ट् स्पिड्’लाई मैले पनि बिना नाइनास्ती स्वीकारेकाले मात्र हामी यति चाँडो पुगेका थियौं ।
घाम डुब्नै आँटेकाले हल्का चिसो बढ्न थालेको थियो । एकैछिन बिर्तामोड बजारमा अलमलिएर हामी जेठा तुम्बा (बडा)को घर बुधबारेतिर लाग्यौं । विदेशिने सिलसिलाले आफ्नो देश सँगसँगै आफ्ना आफन्तसँग पनि यति टाढा बनायो कि तुम्बालाई नभेटेको धेरै भएको थियो । भाइबहिनीलाई त झन् बाटोमा भेट्दा पनि चिन्दिनथें सायद ।
विस्तारै साँझले घुम्टो उघारेर पहाडी डाँडापाखालाई धमाधम छोपिरहेको थियो । हामी चार आली काटेर उकालो मोडिँदै थियौं, इलाम जिल्लाको फेदीमा अवस्थित सुन्दर बजार बुधबारेतिर । भाइले ‘नन् स्टप्’ हुक्याउँदै बाइकमा हापेन चोक पु¥यायो । रमाइलो चिया बगान बिचमा कालो अलकत्रे बाटो । सानोमा हेरेको नेपाली फिल्म ‘सम्झना’को एउटा दृश्य याद आयो । जुन दृश्यमा हिरो भुवन केसीलाई लुकेर भेट्न गएकी हिरोइन तृप्तिलाई उसको दाजु मुरलीधरले बाटैमा पक्डेर झापड हान्दै फर्काउँछ ।
घाम डुबेको साँझको शीतल बतासले खूब आनन्दित बनायो । साँच्ची मेरो पनि मनको भुवन केसी चिया बगान बीचबाट ‘पिरती आफै हुँदो रहेछ…’ गीत गाउँदै निस्कने त होइन जस्तो लाग्थ्यो । तर त्यहाँ त चियाका सुन्दर बुट्यान र कदमका अग्लाअग्ला रुख बाहेक केही थिएन । निकै वर चिया बगान टुंगिने ठाउँमा सानो एउटा किराना पसल र छेउछाउमा केही प्रहरी भाइहरु देखिन्थे । तर, ती फिल्मका पात्र थिएनन् ।
कल्पनामै भए पनि म धेरै रमाएँ । हुन पनि कल्पनामा जति यथार्थमा रमाउन कहाँ सकिन्छ र ? र त भनिन्छ, कल्पनामा रमाउने हो सत्यमा जिउने ।
बिचरा मेरो भाइ सकी नसकी, थाकें सम्म नभनी बाइक हाँकिरहेको थियो—काखीबाट निस्किएको पसिनाको नमिठो गन्ध सुँघाउँदै । मोटाएर सन्नी देओल जस्तै रुप डाल बनाएको उसलाई चिया बगानको मेरो सुन्दर कल्पनामा मुरलीधरको रुपमा भिलेन बनाएर उभ्याउन पनि सकिन । बरु ‘उकालीमा पछिपछि ओरालीमा अघिअघि’ गुनगुनाउँदै मोटरसाइकलको पछि बसिरहें । बाटो पनि उस्तै थियो उकालोओरालो र कहीं खाल्डो ।
तुम्बा निकै पाको हुनु भएछ तर, अझै डोकोनाम्लो बुन्नु छाड्नु भएको रहेन छ । हामी पुग्दा एउटा डोको सकेर बिट मार्दै हुनुहुन्थ्यो । आनामाना नौनी घ्यु खाएर हुर्केको ज्यान, सिस्नोको सुप पिएको आँखा अझ उस्तै तेज रहेछ ! तेसो म भन्दिनँ, हामी सानो छँदा बडा आफै भन्नुहुन्थ्यो ।
अनुहार, बडीमाले मन पराउँदाको जून जस्तो उज्यालो नभए पनि कञ्चनजंघा जस्तै कञ्चन भने रहेछ । त्यो अनुहार झनै कञ्चन भयो म नाक्मा (भतिजी)लाई देखेर ।
गाउँमा तीनघरे जेठा भनेर चिनिने तुम्बा । उहाँको शीरको ढाका टोपीमा लिम्बु हुनुको पहिचान झल्किरहेको थियो जसरी फक्ताङलुङ (कुम्भकर्ण) हिमालमा लिम्बुवान माङ्गेन्ना र आस्था सदैव अटल छ । लिम्बु भाषामै बोल्नु बडाको अर्को सुन्दर विशेषता हो । हामीलाई देख्ने बित्तिक्कै सोध्नुभयो मलाई, ‘‘आफ्फाल् केभेरा मामु मिक्फुला लाजे?लाम् ? (कहिले आइस् नानी बेलायतबाट ?’’ ‘मिक्फुला लाजे?’ अर्थात् लिम्बु भाषामा गोरा या खैरेको देश । म बेलायत बस्न थालेदेखि तुम्बा यही नामले बोलाउनुहुन्छ । कत्ति रमाइलो मेरो तुम्बा ।
अहिले मिक्फुला लाजे?बाट सम्झिरहेकी छु, उहाँको फक्ताङलुङ (कुम्भकर्ण) जस्तो चौडा र कठोर छातीलाई तराईको गर्मीले युद्ध रोकिएको मैदान जस्तै बनाएछ । उहाँको सानो र पातलो गञ्जी भित्रबाट चिहाइरहेको थिलथिलो छातीले यही भनिरहे झैं लाग्थ्यो । तुम्बाको जोवनको सुहाउँदो ज्यान र सेता दन्तलहर खोजिहेरें तर भेटिन । यति हो, अन्धकार ओढारभित्र अल्मलिएका चमेरा जस्तै जम्मा तीन ओटा दाँत मात्र झुन्डिरहेका ! सोचें, यदि मेरो तुम्बा बेलायतमा भए एनएचएस बाट निःशुल्क पाएको डेञ्चर हालेर मस्त हाँस्दै बस्नुहुन्थ्यो ।
मैले काम गर्ने हस्पिटलका बिमारी वृद्धवृद्धालाई सम्झें । बिहान सबेरै दाँत ब्रस गर्नुस् प्लिज ? भनी ब्रस दिँदा तिनीहरु बनावटी दाँत खप्लक्क फुकालेर दिन्छन् ! लाउन्जेल आकर्षक देखिने त्यो बनावटी दाँत फुकाल्दा निकै घिनलाग्दो र डरलाग्दो हुँदो रहेछ । सुरुसुरुमा कति दिन भोकै बसेको छु— घिन लागेर । अनि कतिपल्ट मरिन्जेल हाँसेको पनि छु— दाँत फुकाले पछिको तिनका मुख सेल्फी खिच्न तयारी पारेको थुतुनो झैं लागेर ।
साँझको डुब्दो घाम जस्तै भएछन् तुम्बा । जवानीका जूनघाम निधार र गालाका धर्साहरुमा अस्ताएछ । बूढेसकालीन छालाले आँखिभौको डिल सोहोरेर आँखै छोप्न लागेछ । निकै बेर अल्मलिएछु तुम्बाको चेहरामा । चिया पिउनु बुहारीले घरपछाडिबाट भित्र बोलाउँदा मात्र झस्किएँ । जुन बेला तुम्बा भर्खरको हुनुहुन्थ्यो अरु दाजुभाइ कोही लाहुरे भए कोही स्कुले, तर उहाँचाहिँ चाउरे (सिभिल) हुनुभयो— गाउँले भाषामा । बा¥है मास घरै हुने इमानी छोरा । चैतमास मकै छर्न उहाँ हलो जोत्नुहुन्थ्यो म सानी फुच्ची माटाका डल्लामा ठोकिएर लड्दैपड्दै मकै बिऊ झोलाभरि बोकेर सियो हाल्दै दगुर्थें । आमा र तुम्मा (बडी आमा) मकैको बिऊ मुखमा हालेर एउटाएउटा, फुत्तफुत्त थुकी झार्दै बारीको छेऊकुना कोदालीले खन्नुहुन्थ्यो । जसको बुहारी कोदाली खन्न बलियी र कामकारी उसैको गुनगानमा भाका हाल्ने चलन थियो गाउँमा ।
तुम्बाको जेठा छोरा कञ्चन भाइको छोरी त्यो बेलाको म जस्ती दुरुस्तै भएकी रैछे ! मलाई देखाउँदै बुहारीले ‘‘फुपू हो सेवारो गर’’ भन्दा मेरो नाक्मा (भदैनी) त खाँबामा झुन्डिएर औंला टोक्दै पो लुक्छे । आहा ! यो उसको सर्माइलो स्वभावले मलाई पनि रमाइलो बालपनमा हुत्यायो । नजरको लुकामारीमा नाक्मा र म एकै भयौं— एकै छिन भए पनि ।
तुम्मा (बडीआमा) बितेपछि भाइहरु तीनै जना सबै वैदेशिक रोजगारीले घर छोडछन् । घरमा तुम्बा, बुहारी अनि सानी नानीमात्र । तुम्बा र बुहारीले आज बस्नुस् भनेर अनेक बिन्ती गरे । तर यहाँ पनि बस्न दिएन— पापी समयले ।
साँझ निकै परिसकेको थियो । एकै छिन बसेर खाजा खाइवरि जहाँबाट आएका थियौं त्यही बाटो फर्कियौं हामी— उही चियाबगानका बुट्यान र जुनकिरीसँग लुकामारी खेल्दै ।
घर पुग्दा खाना तयारी थियो । खाएर एकछिन सदाझैं टिभी हेर्दै गफ गर्ने क्रम चल्यो । भोलिपल्ट एउटा कार्यक्रमको निम्त्तो दमकमा थियो ! दिनभरि मोटरसाइकलमा पछाडि बस्दाको थकानले जिउ पूरै लखतरान थियो । बिहान सबेरै उठ्न गा¥हो होला जस्तो लाग्यो । त्यै भएर, आमाबाबालाई तुम्बाको मिक्फुला? (अंग्रेजी)को भाषामा ‘गुड नाइट्’ भनेर म ओछ्यान पसें ।
(साहित्यकार जानू काम्बाङ्ग लिम्बू नेपाली साहित्यमा कलम चलाई रहेकी एक ससक्त महिला हस्ताक्षर हुन्,हाल बेलायतमा बसोबास रहेको छ।)