शिर्षक : परिस्थिति (विधा : कविता)

Byadmin@jhapa_bulentin

२८ श्रावण २१:५९ २८ श्रावण २१:५९ २८ श्रावण २१:५९

✍️ श्रीजबेगू पाँचथर फिदिम

बलेकै मात्र आगो ताप्ने
चरित्रले लपेटेर
निर्धनताको घुम्टोभित्र दपेटेर
द्रव्यपिसाचको चालबाट ओर्लिएर
धेरैपटक पटकपटक
परिस्थितिले निरासाको मैदानमा
भकुन्डो झैँ लाती मार्‍यो ।
ईष्टमित्र खोसाएर
एकान्तवास पुर्‍याइदियो
मैले त्यसलाई सहज मानेँ
अनुहारमा रतिरागको
मुस्कुरावट ल्याएँ
अनि सजिलै पचाइदिएँ

कुनै व्याधाले लघारेको शिकार झैँ
अभाव र समस्याको पृतना लिएर
परिस्थितिले मलाई
आक्रमण गर्‍यो ।
किताबको जङगललाई
बङकर बनाएँ
कलम र कपीको
हतियार बोकेँ
अनि, शब्दहरुको
ट्रिगर दबाएर
आँसुको गोलीले
प्रतिरोध गरेँ ।

त्यो प्रहारको निशानीले,
समय बसेको जमानीले
हारेर परिस्थिति पछि हट्यो,
एकपटकको लागि,
विजय उत्सव मनाएँ
मलाई ! थाहा छ, ऊ
पुनः आक्रमण गर्न
पल, प्रतिपल !
तयारीमा जुटेर
लढाईँको सङकेतहरु दिँदैछ
शक्तिसञ्चयमा
हुङकारको दुन्दुिभ बजाउँदैछ

म, निर्भयता र
विश्वासमा छु
त्यस्ता कैंयौँ परिस्थितिहरु
पराजित गर्नेछु
थप तयारी गर्नु छ मैले
त्यो शौर्य र साहस,
अनि अजयशक्ति
यिनै किताबहरु हुन्
साथीहरु हुन्
यिनै कलमहरु हुन् र
अक्षरहरु पनि हुन्
र त म,
परिस्थितिलाई पटक
पटक जितिरहेको छु
मेरो प्रतिरोधले ऊ,
नचाहेर पनि
भयभीत छ ।
म सन्तुष्टिको अथाह
महासागरमा छलाङ्ग मारिरहेको छु ।

(कवि जबेगु पुर्व स्थानीय प्रशासन मन्त्री हुन्।)

Facebook Notice for EU! You need to login to view and post FB Comments!