✍️ नितेस खनाल

झापा । समुदायमा कोरोनाको संख्या बढ्न थालेपछि बुधबारबाट धरानमा थप एकहप्ता लकडाउन गर्ने निर्णय भएको छ । नगरपालिकाको बुधवार बसेको कार्यपालिका बैठकले आगामी भदौ ३ गतेसम्म लकडाउन थप गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणको जोखिम कम नभएकोले भदौ ३ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको कार्यपालिका सदस्य तथा ९ नं. वडाका वडाध्यक्ष रत्न कट्वालले वताउनु भयो ।

दोस्रो चरणको लडकडाउनको समय आज मध्यरातीबाट सकिदैछ । दोस्रो चरणको लकडाउन साउन २२ गतेदेखि शुरु भएको थियो । बैठकले बाहिरी नाकाबाट आउने खाद्यान्न, तरकारी, दुधलाई रोक्ने निर्णय गरेपनि आन्तरिक उत्पादनलाई भने सहजीकरण गर्ने निर्णय भएको कट्वालले जानकारी दिनुभयो ।

‘धरान बाहिरबाट दुध, तरकारी आउन नदिने तर धरानभित्रैको उत्पादनलाई सहजीकरण गर्ने निर्णय भएको कट्वालको भनाई रहेको छ । धरान नगरपालिका क्षेत्र भित्रको विष्णुपादुका, पाँचकन्या, बसन्तटारको दुध, सब्जी ल्याउन सहजीकरण गर्ने तर पसल खोल्न पाइनेछैन ।

बैठकले धरान–१९ स्थित हरीयाली सामुदायिक वन क्षेत्र भित्रको भवनमा धरानवासीका लागि मात्र २३ बेडको आइसुलेसन वनाउने निर्णय समेत गरेको छ । त्यसैगरी बैठकले कृषि क्षेत्रमा मौज्जुदा रहेको आलु प्याज लगायतका सामाग्रीहरुलाई दुइदिनका लागि बिक्रि गर्न दिने निर्णय गरेको छ । कुखुरा पशुपंक्षी लागि आहार ल्याउन लागि राति १० बजेदेखि १२ बजेसम्म खुल्ला गरीने निर्णय भएको अध्यक्ष कट्वालले जानकारी दिनुभयो ।