“आदिवासी आँधी र सपनाहरु”
✍️ सङ्गम सुहाङ
ओ,
तन्नेरी सपनाहरु !
निक्खुर उज्यालो भुइमा झर्नु अगाडिको समय नापेर
बुइगलबाट ओर्लिनु पर्छ भन्दैछु- दैलोको ठेलाबाट- सङ्घारबाट
अब जोख्ने बेला, नाप्ने र तौलिने बेला भै सक्यो
हिन्ने बेला भै सक्यो, छिटो – छिटो
कतिन्जेल खुट्टामा काटी घोपेर कुर्कुच्चा ठड्याउन सकिन्छ हला र ?
माखेसाङ्लोले चौरास्तमा उनिएर
बिमानब जस्तो एक फोक्टा लिजको माटोमा उभिएर
पट् पट्टि फुटेका कुर्कुच्चा
ब्यबस्थाको बिद्रुप आखाले ठुङ्गेर च्यत्त भुत्त बनाएका कुर्कुच्चा
ठेउला- ठेउली परेका कुलङ्घार कुर्कुच्चा
जो कुनै कम्पनीको ठेकेदारले मौजुदा खरिद गर्दैनन्
रुप रङ्ग उखेलिएर गएका निरीह कुर्कुच्चा
जब निदरीमा पनि सुकुल पड्किन खोज्छ बराबरी
सपनाले बिझाउछ बेस्कन हुर्मतले गिजोल्छ
शून्यताको सबकता बिद्रोहको उद्दीप्तता हो
अथवा सागरको पर्याय
यो बैठान यो जिजीबिषा
यो आबेग यो शूरता
कि यो बिलखबन्द या बिमूढताको अमुकता ?
एक अङ्गालो त्यो आँधी कस्को हो
कस्को हो- त्यो आँधीले बोकेको गर्भको मालिक
एक अङ्गालो त्यो तुफानी सपना कस्को हो
कस्का हुन- ती सपना भुत्ल्याउने निठूर नङ्ग्राहरु
कि माटोको पुर्जी छातीमा खोपेर अलिनो आँसु चुहाउदै हिन्ने
क्रुरताको पाइतला मुनि सोइसोइला खेल्ने बेबासिसे लासको हो
चेतनाले थारिए झै लागेका इ गुजुम्फ मानिसहरु
– म पहिलो मानिसहरु भन्छु।
अब पहिलो नै हुनु पर्छ
जिब्रो उध्याएर टिलिक्क पार
टाउको तिखारेर फ्याक – सडकतिर
अझ मुख तिख्र्याएर टक्रक्क राख चोक- चोकमा…
प- र बाट तिनलाइ तिमी बुद्ध जस्तो देक्छौ
तर म इनलाइ युद्ध जस्तो देक्छु।
बालुवाबाट खुट्टा धुएर निकाल- खुट्टा निकाल बालुवाबाट…
अनि
बगरको सबैभन्दा अग्लो चप्याटी ढुङ्गामा उभिएर हेर
फारो- फारो देखिए झै
बोधहरु बाँझिएको झै
तर ब्यबस्थाको पनि इकोसिस्टम हुन्छ
आकास कम्लाउन त बाकी नै छ
काहीँ कतै त्यो दबिएर बसेको छ
काहीँ कतै त्यो दबाइएर थिचाइएको छ
बन्दुकको चपरीले कुल्चिएका इ राष्ट्रियताका आवाजहरु
आगो सुसेल्न फर्फराएका ओठहरु
आखाको डीलमा तैरी रहेको यो बेतिथिको बिभेदित क्यान्भास हो
कि आदिवासी टाइफुन आउनु अगाडिको आभास हो
ए, युग हाक्ने तरुण दस्ताहरु !
पाखुरा अर्जाप्तै गर-
खुट्टा उध्याउदै गर-
सडक भरी जो गिदि र जिब्रो रोपेर
हल्केलामा सपना र आँखामा लास बोकेर
एकफेर ओर्लिनु त छदै छ
तुफानी आँधीका बेगहरु छोडाएर…
[ कुकुर कविता आन्दोलनको जगबाट]