✍️ बच्चु हिमांशु
ऊ को हो
जो सर्वत्र भेटिन्छ ?
कहिले ऊ हुलमा भेटिन्छ
झण्डा बोकिरहेको हुन्छ, पारिलो घाममा
र सुनिरहेको हुन्छ वाणी
छाता ओढेर डुक्रिनेहरुको
कहिले ऊ पाखोबारीमा भेटिन्छ
अस्तित्व जोतिरहेको हुन्छ, स्वप्नवीज छर्दै
त्यहाँ रत्नौलोको घारी फुल्छ
तर फल्दैन उन्नत जातको फल
कहिले ऊ काठको बाकसमा
सजिएर फर्की आउँछ आफ्नै गाउँ, आफ्नै देश
उसँगै उसका जीजिविशाहरु पोको पारिएको हुन्छ
तिनलाई मृगतृष्णासरी
अनन्त यात्रामा निस्किनु छ
कहिले ऊ लाममा भेटिन्छ
ल्याप्चे हान्दै हुन्छ, आफ्नै लिलामीको तमसुकमा
उसँगै अरु असंख्य हातहरु
दाम चढाउँदै, झुक्दै अघि बढ्दैछन्
यसरी ऊ हुत्तिहारालाई जिताउँछ
अनि आफू क्रुरतापूर्वक पराजित हुन्छ
टाटेपांग्रे हुलियामा भेटिंदा ऊ
रवाफिलो योद्धा देखिन्छ
आदर्शजति सबै उसैको जस्तो
उसको नालबाट निस्केको छर्राले
एउटा विखण्डित उत्साह मर्छ
त्यो सहिद कहलिन्छ कि वीरगति प्राप्त गर्छ
उसलाई उसैको ठेगान छैन
किनभने ऊ निस्किएको छ
कहिल्यै नटुंगिने युद्धमा
जहाँ जुँगाहरु निहुँ बनाउँछन्
ऊ एकतिर लागेर जोरी खोज्छ
र एकदिन सिंगानसरी मिल्क्याइन्छ
ऊ खण्डहरमुनी भेटिन्छ
हरिया झिंगाहरु उसलाई चाटिरहेछन्
त्यहाँ पक्षपाती प्रलय गएको छ
उमाथि ढोंगीहरुले पहिरेका
हुँडारका खराउहरु कुल्चेर जान्छन्
उसको श्रद्दाञ्जली सभासँगै
जीवित भनिएका दुष्टात्माहरुद्वारा
बफेट डिनर आयोजन हुन्छ
त्यसको बास्ना ऊ वरीपरी मडारिन्छ
तर उसका इन्द्रीयहरु चीरनिद्रामा छन्
कहिले ऊ भुईं कोर्दै भेटिन्छ
उसले सिकेका कखराहरु पोत्दै
उसँग भाव कोर्ने कलम र कापी छैन
न छ किताब, न पाठ्यक्रम
न छ पाठशाला, न छन् मास्टर
छ त केवल एक थोक
आश्वासनका पहाडहरु यथार्थ मैदानमा
परिणत हुने दिनको प्रतीक्षामा
उसका बुर्जुवा चेतनाहरु
कहिले ऊ विस्तारामा भेटिन्छ
अर्धचेत छन् उसका तन्तुहरु
उसलाई सुकेनास लागेको छ
अमीर छन् उभित्रका किटाणुहरु
उसको तालुमा हरेषका बुँदहरु छन्
छातीमा निराशाका खकारहरु
तथापि नयन तीखा छन्
क्षितिजमा टोलाउँछन् ती, रजनिघनिभुत छ
तर उसका अपेक्षारुपी रवि
सामु कहिल्यै आइपुगेन
ऊ हुलमा भेटिन्छ, ऊ लाममा भेटिन्छ
ऊ परेडमा भेटिन्छ, ऊ खेतमा भेटिन्छ
ऊ धुलोमा भेटिन्छ, ऊ खण्डहरमा भेटिन्छ
ऊ त्यहाँ भेटिन्न
जहाँ हर्षहरु सुखसँग भाका बस्छन्
जहाँ प्राप्तिहरू उन्नतिसँग जुहारी खेल्छन्
जहाँ देवहरु मानवसँग स्नान गर्छन्
जहाँ आकांक्षाहरु विजयसँग मित लाउँछन्
ऊ को हो
जो सर्वत्र भेटिन्छ
तर जहाँ हुनुपर्ने, त्यहाँ भेटिन्न ?
ऊ अरु कोही नभएर
एउटा उपेक्षित, लाचार र वर्जित
कल्पनाहरुको पुञ्ज हो
ऊ यो देशको जनता हो !