झापा । प्रदेश १ का मुख्य न्यायाधिवक्ता डा. चूडामणि आचार्यसहित परिवारका तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोनाका प्रारम्भिक लक्षणका आधारमा स्वाब परीक्षण गर्दा आचार्यलाई कोरोना पोजेटिभ देखिएको हो । प्रदेश १ सरकारका उच्च अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको यो पहिलो हो। आचार्य, उनकी श्रीमती र छोरालाई कोरोना पोजेटिभ देखिएको हो ।
परिवारका सबै सदस्यलाई ज्वरो आउन थालेपछि आचार्य आफैंले स्वाब परीक्षण गराएका थिए । मुख्य न्यायधिवक्ताको सचिवालयका अनुसार उनीहरुमा कोरोना कसरी देखियो भनेर अहिलेसम्म स्रोत खुलेको छैन । ‘सरले नै भन्नु भएअनुसार उहाँको परिवार लामो समयदेखि बाहिर कतै यात्रा गरेको छैन,’ सचिवालय स्रोतले भन्यो, ‘उहाँले आफू र परिवारका सदस्यलाई कडा खालको ज्वरो आएको भन्दै कार्यालय पनि आउनु भएको थिएन ।
सार्वजनिक कार्यक्रममा त जाने कुरै भएन ।’ आचार्यका परिवार विराटनगर महानगरपालिका ५ स्थित आफ्नै निवासमा सेल्फ क्वारेन्टाइन बसेका छन् । उनी दुई हप्ता यता कार्यालय नगएको प्रदेश १ को मुख्य न्यायाधिवक्ता कार्यालयकी सूचना अधिकारी रेवती सुवेदीले जानकारी दिइन् । ‘सर अफिस नआउनु भएको त १३ दिन जति भयो,’ उनले भनिन् । अफिस नआएपनि उनी यसबीचमा केही बैठकहरूमा सहभागी भने भएका छन् । यता मुख्य न्यायाधिवक्ताका स्वकीय सचिव हरि पोखरेलका अनुसार मुख्य न्यायाधिवक्ता र उनका परिवारका सदस्य कोहीको पनि पछिल्लो ट्राभल हिस्ट्री छैन । उनीहरु घर बाहिर गएका छैनन् ।