झापा । ताप्लेजोङ्गमा अवस्थित लिम्बुको ऐतिहासिक, धार्मिक स्थल मुक्कुमलुङलाई सरकारले हिन्दुकरण गरि पाथिभरा देवीको रुपमा स्थापित गर्दै भौतिक संरचनामा समेत अतिक्रमण गर्न लागेकोमा आपत्ती जनाउदै बाँस कविहरुले ‘अभियान शृङ्खला-१’ अन्तर्गत मुक्कुमलुङ अतिक्रमण विरुद्व बाँस कविता लेखेका छन् ।
सम्पुर्ण बाँस साहित्यका अभियान्ताहरुले सावन १३ गते बेलुका ४ बजे एक्कै पल्ट ब्यानर सहित फेसबुकमा कविता पोस्ट गरेर विरोध जनाएका हुन् । हरेक अन्यायको विरुद्व बाँस साहित्य, हरेक उत्पिडनको पक्षमा बाँस साहित्य भन्ने नारासहित शुरु भएको अभियानमा मुक्कुमलुङ अतिक्रमणविरुद्व कविहरुले कविता मार्फत आफ्ना कुरा सम्प्रेषण गरेका हुन् ।
यो अभियान ३ दिन सम्म चल्ने एक अभियन्ताले बताए । बाँस सहित्य एक साहित्यिक आन्दोलन हो । यसले केन्द्रीयता, साहित्यिक सामन्तवाद, साहित्यिक सिण्डिकेटको विरुद्वमा डिजिटल बासको खोजी गर्दछ ।
राज्यबाट चेपाङ बस्तीलाई आगलागी लगाएर सखाप बनाएको कार्य प्रती विरोध जनाउदै ‘अभियान शृङ्खला-२’ र विगत ५ दशक देखि आफ्नो माटोको परिचयपत्र खोजी गर्दै आएको बुद्वशान्ती वार्ड नं. ४ र ७ भित्र रहेको सुकुम्बासी समस्यालाई ‘अभियान शृङ्खला-३’ अन्तर्गत राज्यको ध्यानाकर्षण गराई समस्याको समाधान गर्नको निम्ति कविताको माध्यमबाट आवाज उठाउने यसै अभियानका एक अभियान्ताले झापा बुलेटिनको प्रतिनिधिलाई बताउनु भयो ।