सम्झना ठूलीको (कविता)

Byadmin@jhapa_bulentin

९ श्रावण १९:१० ९ श्रावण १९:१० ९ श्रावण १९:१०

✍️ पुष्पहाङ लोवा

यतिको लामो समयान्तरपछि
कसरी आयो ?
धुमिल सम्झना ठूलीको
सुनामी बनेर ।

हो,
अमरपुर नवमी
बिसाउँदै नुनको भारी कञ्चटको थकान पुछेर बस्दा
पहिलोखेप चिनजान भा’को हो
आङ्बुङ्गे ठूलीसँग एक बटुको चाखनीमा ।

गुराँस थियो ठूलीको गाला
केशराशी ठ्याक्कै ह्यात्रुङ्
एकजोडी हिमाल घाम पहिले झुल्किने
शीरबन्दी छ्याप्पै निधारमा छपनी तालमा हल्लिने
शायद यीनै हुन् लाग्थ्यो – क्लियोपाट्रा ।

सौर्न्दर्यभरि सयर गर्दै टेकेर आँखाले
बेस्सरी बेरिएँ सपना
तीनफन्के सारी बनेर
कतिन्जेल हेर्छु ?
झरनाको दृश्य खडेरी मनले
बरू-
खनेर कुलो सिचिन्छु
टिपेर गुँरास सजिन्छु/रङ्गिन्छु
यसै भनेर मैले
ठूलीको जोवन तान्नलाई
जुक्तिले लाएँ अङ्कुसे मलिन मुस्कानको ।

चारअौला गहिरो भासिएको थाप्लोमा
फेदापे सिपको सक्कली
फालेलुङ् उभ्याउँदा निहुरिएर आयो बिस्तारै
मलीबाँस जस्तै ठूलीको मन
त्यसपछि हामी
पालामको आकाश ओढेर
ससेलिङ् उभियौं आस्थाको
युफ्रेटिस बग्यौं मायाको ।

सकेन छेक्न हामीलाई प्लेटोनिक प्रेमको पर्खालले
तसर्थ
बगेर जाँदा एक साँझ
टुप्लुक्क पुग्यौं मेरै आप्पाको याक्सामा
जहाँबाट
हुँदैथियोे सुरु नवीनतम यात्रा
बोकेर कुम्लो दुःख र सुखको
तर, खै कसरी ..कसरी …?
अनायास मलाई सिमलको भुवा बनायो
निर्मोही बतासले मुग्लाने आकाशमा !

सबैको कान्छा भएर बाँचे
सनपाटको नाम्लोले कसेर जिन्दगी
याप्लाको स्याबास थाप्नलाई
साङ्खोला बग्थें पसिना
छुम्लाको बक्खु हेर्दाहेर्दै
र,
एक गिलास आराखा थप्दा थप्दै
सिटिजेन घडीको सुइरो सरेर देब्रे हातमा
निक्कै प….र पुगिसकेको थियो
खुला आकाश हेरें
डुब्दै थियो घाम पश्चिम क्षितिजमा ।

लाग्छ आज,
सही गन्तव्यभित्र जिन्दगी हिंडाउन जानेको भए
ठूलीको यौवन अञ्जुली माथि थमाउन सकेको भए
सृष्टिको गीत गाएर
बग्नेथ्यौं जस्तो – तमोर सधैं सधैं
तर,
जिन्दगीसँग डराएर भाग्ने
छ्या ! कति कायर मान्छे म
त्यसैले आज
पात झरी गएको सखुवा उभिएको छु
विना सौर्न्दर्य
आधाबाटो मै हराइ जाने बगेको छु
रतुवा विना लक्ष्य ।

खै ! अचेल अन्तै ठाउँ जारी गरेर
फल्यो फुल्यो कि ?
या बर्बाद भो कुन्नि ठूलीको जिन्दगी ?
आज म आफैं
गहिरिइ सकेको छु अथाह सागर
सम्झनाको सियोले चसक्कै घोचे नि गर्नु के ?
म आफैं छिप्पिइ सकेको छु
एउटा अौंशीको रात
तैपनि दुःखेर आउँछ बेस्सरी सम्झना ठूलीको ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!