✍️शुमी लाबुङ्ग लिम्बु
मध्यान्हको चर्को घाम तातेको थियो काठमान्डौ । प्रदर्शनकारीको नारा जुलुसले उस्तै तातेको थियो रत्नपार्कको सडक । दिनहुँ जस्तो कुनै न कुनै प्रदर्शन भइरहने रत्नपार्कमा त्यस दिन पनि खै के को बिरोध प्रदर्शन थियो उति सारो वास्ता गरिँन मैले । न्यूरोड बाट बानेश्वर कोठामा फर्कदै थिएँ । प्रर्दशनकारीले खचाखच भरिएको रत्नपार्कको सडक बिस्तारै खाली हुँदै थियो । सडक किनारामा वाईक रोकेर एक नजर प्रदर्शनकारी तर्फ मिल्काएँ ।
‘दाई खानुुस है मकै तात्तातो । मुलपानीको मकै ।’
सडक किनारा बाट एउटी अधबैँशे आईमाईले मेरो ध्यानाकर्षण गराई ।
हातमा पोलेको मकैको थाली थियो । के के मकैको बिज्ञापन गर्दै थिई उ । बर्षौ पुरानो र मैलो शरिरको कपडा, कुपोषणले हाड छाला मात्र शरिरमा कुनै रस रंग बाँकी थिएन । र पनि मलाई चिन्न कुनै गाह्रो भएन । उ डेढ दशक अघि की चिर परिचित सेक्सन कमाण्डर कमरेड सपना थिई । नतमस्तक थिएँ म यत्तिका बर्ष पछि गुमनाम कमरेड सपनाको अबस्था देखेर । झट्ट बोलाउने हिम्मत नै आएन । कालो चश्मा र हेलमेट ले शायद चिन्न सकिन उसले । ट्राफिकको सिट्ठीले झस्किएँ म । वाईक अगाडी बढाएँ । सडक खाली भईसकेको थियो । उ पनि मकै बोकेर भीडमा अलप भईसकेकी थिई ।
कोठामा पुगेपछि झलझली पुराना यादहरु आईरहे । कमरेड सपना एक अत्यन्त जुझारु, शाहसी चलेको नाम हो एकताका उसको ।
‘सपनाको जस्तो शाहस हुनुपर्छ ।’ २०६२ सालमा सिरहाको बन्दिपुर लडाँई बाट फर्कदा वटालियन कमिशारले उसको प्रशंसा गरेको याद मलाई अझै ताजै थियो । पाखुरामा गोली लागेको थियो उसलाई । लडाँई नजीति फर्कन अस्विकार गरेकी थिई उसले । किन किन उसको शाहस प्रति डाह हुन्थ्यो हामी केहि युवालाई ।
त्यतिले रोकिएन उसको प्रशंसा । सिन्धुलीको आम्बोटेमा लडाँईको समिक्षा थियो । पूर्वि डिभिजनका कमाण्डर कमरेड अनन्तले समेत उसको नाम लिए पछि एकाएक चर्चित भई उ । इख थियो हामीलाइ कुनै दिन कमाण्डरको मुखबाट सपनाको भन्दा अघि आफ्नो नाममा प्रशंसा बटुल्ने ।
उमेरले केहि बर्ष म भन्दा जेठी नै लाग्थी उ । शारिरिक हिसाबले परिपक्व, पातली, साधारण उचाई, कृतिम सुन्दरता बाट हजारौ माईल टाढा तथापि नराम्री भने थिईन । त्यसो त सुन्दरताको परिभाषा नै बेग्लै थियो उसको । ‘रुप हैन कमरेड सार हेर्नुस ।’ फेमस थियो कुनै समय उसको यो डाईलग हामी युवा माझमा । उसो त जनवादी विवाहका लागि उसलाई प्रशस्त प्रस्ताबहरु आएकै थिए । सँधै अस्विकार गरिरहि उसले । मन नपर्ने कुराहरुको डटेर प्रतिरोध गर्नु, आफ्ना समस्याहरु खुलस्त राख्न सक्नु, सिद्धान्त प्रति प्रतिबद्ध, लडाँईमा अदभूत शाहस नै उसका सुन्दरता थिए ।
समकालिन महिला छापामारहरुमा त अब्बल नै थिई सपना । हामी पुरुषहरु सँग प्रतिस्पर्धा गर्थी सैनिक गतिविधिहरुमा । कतिपय स्थानमा उसले जित हात पार्दा हीनताबोध हुन्थ्यो हाम्रो पुरुषत्वमा । अनि उसलाई हराउन अनेक चालबाजी गथ्र्यौ हामी ।
शान्ति प्रक्रिया शुरु भएपछि उपचारको लागि लामो समय काठमान्डौ नै बसि । त्यसपछि फर्किन उ । भगौडाको सुचिमा थियो उसको नाम । गणतन्त्र आएपछि गुमनाम भई सपना । डेढ दशक पछि आकस्मिक देखिएको उसको फरक रुपले मनमा अनेक कौतुहलता हुनु स्वभाविक थियो । उसलाई भेट्न त्यति सजिलो थिएन । भेटेर उसको डाईलग सम्झाउन मन थियो ।
कति पटक रत्नपार्कका सडक पेटीहरु नियालेँ । काठमान्डौ का चोक चोकका सडक पेटीहरुमा कतै छे की भनेर हेर्न कुनै कसर बाँकी राखिँन । आधुनिक संचार संजालमा भेटिन्छे की भनेर फेसबुकमा नाम सर्च गरेँ । हजारौ सपनाको भीडमा कमरेड सपनाको कुनै तस्विर देखा परेन ।
झण्डै एक महिना पछि वीर हस्पिटल अघि फुटपाथमा एउटा उपन्यास खोज्दै थिएँ । नजिकै देखा परि उ । हतार हतार एउटा पुरानो झोलाबाट सामानहरु निकालेर सडकपेटीमा धमाधम लेआउट गर्दै थिई । पुस्तकवालाले पर सर भनेर गाली गर्दै थियो । डटेर प्रतिरोध गर्दै थिई । त्यो त उसको पुरानो बानी रहँदै रहेछ । छिनभरमै लेआउट सकेर कराउन थाली उ ।
‘ताजा ताजा निगुरो सस्तो कागती मात्र बिस रुपैया भाग ।’
नियालेर हेरिरहेँ म । पुरानो चप्पल, फाटेको उसको कुर्कुच्चा, पुरानै कुर्था सुरुवाल, राम्रोसँग कोरीबाटी नगरेको लट्टा परको कपाल, हाडलाई छालाले मात्र छेकेको उसको अस्थिपञ्जर, अनुहारमा लामखुट्टे बस्दा चेप्टिएर मर्ला जस्तो मुजाका रेखीहरु, पिर्लिक्क पिर्लिक्क उहि आँखाहरु घुमाई रहन्थी सडकपेटीको दाँया बाँया ।
कुनै आकर्षण बाँकी थिएन शरिरमा । पातली त त्यसबेला नी उ पातली नै थिई । तर उतिबेला मिलेको शरिर थियो । मोटाउनु र दुब्लाउनु बिचको अन्तर भने धेरै हुँदोरहेछ । शायद कसैलाई उसको उमेर अनुमान गर्न लगाएको भए मेरी आमाको उमेर बराबर भन्ने थियो ।
प्रष्टै थियो उसको पाखुराको खत । दुनियाँलाई उसको खतको कुनै प्रवाह थिएन । कसैले बुझ्ने प्रयास गरेन होला खत भित्रको इतिहास । कसैले बुझेन त्यो गणतन्त्रको निशानी । विडम्बना सपनाहरुले लडेर ल्याएको गणतन्त्रमा सपनाका सपनाहरु नै गुमनाम भईसकेका थिए । उसको स्थान सडक पेटी भन्दा माथी थिएन । सडकमा धुलो उडाएर दौडने चिल्ला गाडीबाट गणतान्त्रिक मन्त्रिहरुले सपनाहरुलाई सडक पेटीमा देख्ने कुरै भएन ।
केहि छिनमै उसले सय डेढ सय को बेच्न भ्याई सकेकी थिई । सडक पेटीमा कोही कपडाका पोका बोकेर दौडदै थिए । हत्तपत्त झोलामा प्याक गर्न थाली उ । मैले केही बुझिन । नगर प्रहरीको गाडी रोक्कियो अगाडी । नगर प्रहरी झरेर जबर्जस्ती ताने उसको झोला । उ पनि कहाँ छोड्थी र त्यसै हड्डिको बल निकालेर तानी । झोला च्यातिएर कागतीका दानाहरु लडे सडकमा । छरिएको निगुरो टिपेर नगर प्रहरीले कोच्यो गाडीमा अनि हुँईकियो अगाडी । ट्वाल्ल परेर सडकमा गुडेका कागतीका दानाहरु हेर्दै थिई उ । चिल्लो सडकमा गुडेका उस्तै चिल्ला गाडीले किचिमिचि पार्दै अगाडी बढे ।
समाप्त।
भिडियो अडियो सुन्न र हेर्न👇️
https://www.facebook.com/619781895056847/posts/1250365498665147/