सुकुम्बासी (कविता)

Byadmin@jhapa_bulentin

५ श्रावण १६:१३ ५ श्रावण १६:१३ ५ श्रावण १६:१३

✍️ राजा माबो

पाईतलाले आधा मात्र टेकेर उभिएको छु,
बार-बार आफ्नै पाईलाले सोधिरहन्छ-धनिपुर्जा खोइ?
यो हावालाई छेडेर बिचरा भएर उभिएको छु,
कतैबाट एक झोका बतास आएर सोध्छ-धनिपुर्जा खोइ?

म अब आफ्नै पाईलालाई कसरी सम्झाऊ?
तँ नै मेरो पृथ्वीमा टेक्ने धनिपुर्जा होस् भनेर
म हावालाई कसरी बुझाऊ?
तँ नै मैले यो संसारमा सास फेर्ने धनिपुर्जा होस् भनेर

पधेरीमा पानीले उहीँ प्रस्न घोट्छ-धनिपुर्जा खोइ?
करेसामा तरकारीले उहीँ दोहोर्याउछ-धनिपुर्जा खोइ?
म अब उसै प्रस्न पल्टाउन चाहान्छु
ए पानी! ए तरकारी!! तिमीहरुको धनिपुर्जा खोइ?

जो माटोसंग अमिट प्रेम गर्छ जसको पुर्खाहरुको
पहिना,मासु र हड्डिको ताजा गन्ध छ त्यो माटोमा,
उसैलाई माटो गद्दारहरुले
-खोइ यो माटोसंगको तेरो चिनारी यहि सोधिरहेका छन्
अचेल माटोले,हावाले,पानीले,रुखपातले पनि सिकेकाछन्
-खोइ धनिपुर्जा!??

सरणार्थीहरुले हुकुमबासी बनेर अरु बृतलाई सुकुमबासी ठेलेको,
बिपक्षी आवाजको घाँटी थिचेर शक्ति र सत्ताले जबर्जस्त पेलेको,
कति दिन,बेर पो जिउदो रहला र!धड्कन सहित?
पृथ्वीको हिस्सा,कित्तामा फरक हक राख्ने
ए सामान्त,दलालहरु हो
माटो पराई पारेर कहिले पराई हुन सकिन्दैन,
आफ्नो बनाएर कहिले आफ्नो हुदैन,
माटो मेटेर मेटिन्न,लेखेर लेखिन्न,किनेर सकिन्न बेचेर बेचिन्न,
जस्तै:-हावा,पानी आदि-आदि

त्यसैले,
मान्छे र माटोको सम्बन्ध बुझ्न
कि माटो हुन पर्छ कि मान्छे
नबुझेर,बुझेर हुकुमबासीमा बाचेका हो
-सुकुमबासीनै यो माटोको मालिक हुन्
यो माटो र मालिकको पसिनाको सम्बन्ध
आगोले नजल्ने हुन्छ
यो माटो र मालिकको नङ र हातकेलाको
घाऊको नाता सानो पहिरोले नपुरिन्ने हुन्छ।

ए हुकुमबासी हो नसोध मलाई धनिपुर्जा खोइ भनेर
कुनै दिन यो माटोले सोध्ने छ तलाई तेरो मानविय धनिपुर्जा खोइ भनेर

त्यो बेला म पनि यो माटोको
मालिक भएको नाताले बोलुला केही दुई चार शब्द।

Facebook Notice for EU! You need to login to view and post FB Comments!