✍️ रोशन भट्टराई
झापा । बुद्धशान्ति गाउँपालिका ३ स्थित धर्मकाँटा छेउमा उमेश तिम्सिनाले पालेको २ वटा बोकालाई गए रात भुस्या कुकुरले मारेको छ । बिहान हेर्दा क्षतविक्षत अवस्थामा आफ्नो खसी देखेपछि तिम्सिनाले अरुलाई पनि भुस्या कुकुरबाट सचेत हुन अनुरोध गरेका छन् । एउटा हाफ वोयर जातको बोका र अर्को लोकल बोकालाई बाख्रा खोर मै कुकुरको झुण्डले मारेको थियो । केही समय अघि उनले हाफ वोयर २५ हजारमा र अर्को बोका १५ हजारमा खरिद गरेका थिए ।
करिब ८/१० वटाको झुण्डमा रहेको कुकरले केही समय अघि पनि बुद्धशान्तिका विभिन्न क्षेत्रका खसी बोका, पाडा, पाडीलाई मार्दै आएको थियो ।
उनीहरुलाई खानेकुराको अभाव भएपछि यस्तो क्रियाकलाप देखाउन थाल्ने बुद्धशान्ति पशु शाखाका प्रमुख कैलाश सिंहले बताएका छन् । केही समय अघि पशु शाखाकै नेतृत्वमा करिब ४०० बढि कुकुरलाई बध्याकरण गरेको जानकारी गराउँदै गाउँपालिकाको समन्यवमा यो बध्याकरणलाई निरन्तरता दिन सके यो समस्या केही न्यूनिकरण हुन सक्ने सिंहको भनाइ छ ।
पशुहक अधिकार अन्तर्गत उक्त कुकुरहरुलाई मार्न पनि नमिल्ने बताउँदै बध्याकरण गर्नु तथा उनीहरुलाई सुरक्षित अन्य स्थानमा सार्नु उत्तम उपाय रहेको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश कुमार भुजेलले बताएका छन् । यसका लागि पहल भएको बताउँदै सम्पूर्ण बुद्धशान्तिबासीहरुलाई उक्त कुकुरहरुबाट सचेत रहन उनले अनुरोध गरे ।