✍️रोशन भट्टराई
झापा । उत्तरी सिमानाको गाउँ पालिका हो बुद्धशान्ति । पहाडको चिसो पानी र तिन तिरबाट पहाडले घेरिएको यो पालिका नेपालकै सुन्दर स्थानमध्येको एक हो । पहाड, मधेस र कछाड सहितको भूभाग यस पालिकाभित्र पर्ने भएकाले यहाँको हावापानी मिश्रित किसिमको छ । न धेरै जाडो न धेरै गर्मी हुने यो क्षेत्र बसोबासका हिसाबले अति उपयोगी छ । धानखेतीका लागि नेपालै ख्याती कमाएको यो पालिका पर्यटकीय तथा जैविक विविधताका दृष्टिले पनि अग्रणी रहेको छ ।
बुद्धशान्ति गाउँपालिकाको अर्को महत्वपुण क्षेत्र हो यहाँको सिसार क्षेत्र । २ सय ५१ हेक्टर क्षेत्रफलमा फैलिएको यो सिमसार क्षेत्र घना जङ्गलले भरिएको छ । विशेष गरी साल (सखुवा) को जङ्गल रहेको यस क्षेत्रलाई जनज्योति सामुदायिक वनका रूपमा विस्तार गरिएको छ ।
बुद्धशान्ति गाउँपालिका वडा नं. ३ र ४ का उपभोक्ताको संरक्षणमा संरक्षित यो वन क्षेत्र आन्तरिक पर्यटनको आकर्षण बन्दै गएको छ । उपभोक्ता समितिले यस क्षेत्रलाई पर्यटन, वनभोज तथा सिमसार संरक्षण क्षेत्रका रूपमा विकास गर्ने योजना अघि सारेको छ।
‘‘हामीले भर्खरै जिल्ला वन कार्यालयबाट १० लाख रुपियाँ अनुदान पायौँ । यसबाट यो क्षेत्रमा पोखरी तथा ड्याम निर्माणका लागि डिपिआर तयारी गर्ने काम सुरु भएको छ ।’’ आगामी दिनमा पालिका, प्रदेश र केन्द्रसित समेत सहयोग लिएर यस सिमससार क्षेत्रलाई झापाकै उत्कृष्ट गन्तव्य बनाउने योजना रहेको उपभोक्ता समितिका अध्यक्ष मान बहादुर साँवाले बताए । आफूहरू समितिमा आएपछि अतिक्रमणको कार्य समेत रोकिएको बताउँदै अध्यक्ष साँवाले भने, ‘‘बुद्धशान्ति विविध खाले पर्यटकीय सम्भावना बोकेको पालिका हो । तीमध्ये सबैभन्दा अगाडि यो सिमसार क्षेत्र नै पर्दछ ।’’
स्थानीय क्षेत्रको पर्यटन अभिवृद्धिका लागि उपयुक्त गन्तव्य भएर पनि यसतर्फ सम्बन्धित निकायको त्यति ध्यान जान नसकेको गुनासो अध्यक्ष साँवाको छ । सबैको साथ र सहयोग पाए बुद्धशान्तिलाई आन्तरिक पर्यटनको आकर्षण बनाउन सकिने अध्यक्षको विचार छ ।