`सुकुम्बासी´ (कविता)

Byadmin@jhapa_bulentin

१ श्रावण १६:४६ १ श्रावण १६:४६ १ श्रावण १६:४६

✍️ कृष्ण ढकाल

परार सालका सपनाहरू
चिहानडाडा, धारागोला, हडिया हुदै
बर्नेका चिया बगानभरि
बाडिएको देख्दा लाग्थ्यो,
सुकुम्बासीका मनभरि
अब चाँडै खुसीका फूलहरू फुल्नेछन्
त्यस्ता फुलहरु जसले
हरेक मनमा खुसियाली छाउनेछ
तर हैन!
यो मेरो क्षणिक भ्रम रहेछ,
ती फूलका डालीहरू
बिछिप्त बनेर आज
मृत्यु शैय्यामा लडिरहेको पाएँ
ती मनहरू रुँदै रुँदैै
खाडीतिर भासिरहेको पाएँ
फेरिपनि….
ती पुराना सपनाहरु
खोतल्दै जादा
युद्धको कुरुक्षेत्रबाट निस्किएका
कसैको खाली सिउदोमा
कसैको वैसाखीमा
कसैको फाटेको भोटोहरूमा
उनीहरुलाई नै गिज्याउदै
र्निलज्ज हाँसी रहेको पाउछु
परेलीहरू ओभानो नै थिए
तर पनि अवसरवादको
अघि-पछि दगुरिरहेका
ती यान्त्रिक मानवहरूमा
मानवीय संवेदना थिएन
देश र जनताप्रति चिन्तन थिएन
ती पीडित मनहरुप्रति मोह थिएन
सम्झन्छु ती सपना पूरा गर्न
उनीहरुको त्याग र बलिदान
तर बिडम्बना,
अन्त्यमा उनीहरू
आफ्नै आगनमा बिरानो बनें
आफ्नै समाजमा बिद्रोही बनें
जसको फल स्वरुप,
शरीर जिउँदै मरेतुल्य भयो
सपनाहरु त सपनामै सिमित रहे
त्यसैले हजुर
म त अझैपनि आफ्नै घरमा
सुकुम्बासी भएको छु
म त अझैपनि आफ्नै देशमा
सुकुम्बासी भएको छु ॥

Facebook Notice for EU! You need to login to view and post FB Comments!