कन्याम । सुर्योदय ०६, हर्कटे इलाम स्थायी निवासी सन्तोष गुरुङ धेरै प्रचारबाजी नखोज्ने तर उर्जाशिल युवा हुन् । झट्ट हेर्दा खलनायक जस्तो तर पेशाले उनी गायक हुन । त्यसका अतिरिक्त उनी कलेज पढाउने प्रोफेसर पनि हुन । अहिले उनको परिचय गायक, संगीतकार र भिडियो निर्देशकका रुपमा पनि आउन थालेको छ । सूर्योदय नगरपालिका वडा नम्बर ६ हर्कटे बजारमै उनको घर छ । तर धेरै इलामबासीले उनको सोधीखोजी गर्दैनन् । किनकी उनी गुमनाम गुमनाम संगीत साधनमा लिप्त छन् ।
रक–पप, लोक–पप उनको रोजाइको विधा हो । २०६९ सालमा न्यू आर्टिस्ट विधामा नेपालको चर्चित इमेज अवार्ड प्राप्त गरेपछि एकैपटक १० वटा गीतमा संगीत भर्ने मौका पाए । त्यसपछि करिब १५ वटा गीत रेकर्ड भए । त्यसमध्ये चारवटा गीतको मात्र भिडियो निर्देशन गरे । अरु थुप्रै गीत उनले संगीत भरिरहेका छन् । स्वर दिइरहेका छन् । चर्चित गायक गायिकाका गीतलाई भिडियो निर्देशन गरिरहेका छन् । क्यानभास प्लस मल्टीमिडिया उनको भिडियो सम्पादन कम्पनी हो । उनी भिडियो सम्पादनमा पनि उत्तिकै दख्खल राख्छन । बृत्तचित्र निर्माणमा उनको रुचीको अर्को पाटो हो ।
सुरुवातीमा स्लो रक–पप गीत गाएपनि त्यसपछि अन प्लक भर्सनका गीतहरुमा उनले स्वर दिए । ‘घुम्न जाऔं बेल्टार..’ र ‘सुनसान रात..’उनको बहुचर्चित गीत हुन । मेला महोत्सव र विशेष समारोहमा सन्तोषलाई निम्ता आउन छाडेको छैन । गाउँको समाजसेवामा विशेष चासो राख्ने शंकरदेव क्याम्पस, काठमाडौंबाट स्नातकोत्तर उनी सूर्योदय नगरपालिकाका गुमनाम तर चम्किला प्रतिभा हुन ।
स्रोत: सुर्योदय संचार मञ्च