झापा । कनकाई नगरपालिका वार्ड नं. ७ दुर्गापुर झापामा बसोबास गर्दै आउनु भएको इक्साहाङ चेम्जोङको जन्म वि.सं. २०४१ साल फाल्गुन ७ गते पान्थरको फाक्तेपमा स्व. बंम बहादुर चेम्जोङ र आमा टीका माया सङ्बाहाङ्फेको कोखबाट भएको थियो । उहाँले जातीय संस्था कियाचुको लिम्बुवान प्रदेश सदस्य साथै याक्थुङ हाक्पारे साम्लो सजुम् को संयोजक र याक्थुङ लेखक संघको केन्द्रिय सदस्य पदको जिम्मेवारी समाली रहनु भएको छ । आज उहाँ ‘याक्थुङ हाक्पारे साम्लो सजुम् को संयोजक इक्साहाङ चेम्जोङ’ सँग “विश्वव्यापी अनलाइन हाक्पारे प्रतियोगिता” को बिषयमा यसै झापा बुलेटिनको सम्पादक सुमन लेप्चा वाङ्चु सँगको भलाकुसारीमा तयार पारिएको अन्तर्वार्ता जस्ताका त्यस्तै तल प्रस्तुत गरिएको छ ।

✍️ हाक्पारे भनेको के हो? यो कहाँ, कहिले, को बाट सुरुवात भएको हो???
🗣️ हाक्पारे भनेको हाम्रो याक्थुङ मौलिक लोक सांस्कृती भित्र पर्छ । मुन्धुमी व्याख्याहरुलाई विभिन्न कार्जे तिर लयात्मक बनाएर गाएको गितलाई हाक्पारे भनिन्छ जस्तो लाग्छ । यो कसले सुरु गर्‍यो भन्ने कुरो चाहिँ हाल सम्म थुप्रै लेखहरु अध्ययन गर्दा केही बिवादित देखिन्छ । तै पनि यो याक्थुङ मानव जातिको उत्पत्ति संगै शुरु भएको हो भन्दा अत्युक्ति नहोला ।

✍️ विश्वव्यापी अनलाइन हाक्पारे प्रतियोगिता गर्नुको उद्देश्य के होला? यो प्रतियोगिता संचालन भैसकेपछी यस कार्यक्रमले समाजमा कस्तो प्रभाव पर्ला?
🗣️ हामीले विश्वव्यापी अनलाइन हाक्पारे प्रतियोगिता गर्नुको मुल उद्देश्य भनेकै लोप हुँदै गरेको हाक्पारेको अस्तित्व बचाउनु र नयाँ पुस्ताहरु सम्म हाक्पारेको मोह जगाउनु हो । समाजमा चाहिँ पक्कै राम्रो प्रभाव पार्छ भन्ने आशा राखेका छौँ हामीले ।

✍️ अहिले अनलाइनको माध्यमबाटै “पालाम प्रतियोगिता” संचालन भइ रहेको छ, यसैको सिको गरेर अनलाइन हाक्पारे प्रतियोगिता गरेको भन्ने कुरा सामाजिक संजालमा हल्ला छ, यो बिषयमा तपाईको आफनो भनाई के छ नि?
🗣️ सारै सान्दर्भिक प्रश्नको लागि धन्यवाद । हजुर मलाई पनि थुप्रैले यो कुरा गरे । तर वास्तवमा हामीले सिको गरेको चाहिँ हैन । यो लकडाउनको समयमा हामीले पनि केही गरौं भनेर सुरु गरेका हौं । लगभग पालामको सुरुवाती मै हाक्पारे पनि घोषणा चाहिँ भएको हो । तर हामीले पालामको कार्यक्रमलाई सक्न दिएर मात्र गरौं भन्ने निर्णय भयो र हामीले कार्यक्रम सारेका हौं ।
खासमा बुझ्नै पर्ने कुरो के होभने, हामीले पालाम कार्यक्रमको आयोजकसंग प्रतिस्पर्धा गरेको चाहिँ होइन । के त भन्दा भाषा लिपि संस्कार संस्कृतीको लागि एक जनाको मुख मात्र ताकेर हुदैन । सकेसम्म आ-आफ्नो ठाउँबाट गर्नुपर्छ भन्ने हाम्रो कुरो हो । तर कसैको सिको गरेको चाहिँ हैन ।

✍️ २०७७ असार १५ गते देखि आयोजना गरिने भनेको “अनलाइन हाक्पारे प्रतियोगिता” लाई, पालाम कार्यक्रम संचालन भैरहेको कारणले गर्दा असार २५ मा सार्नु भएको हो?
🗣️ हजुर हाम्रो निर्णय अनुसार असार १५ देखि प्रतियोगिता शुरु गर्ने थियो । तर पालामको कार्यक्रम चरणबद्व तरिकाले लम्बिएकोले हामीले कार्यक्रम सार्न बाध्य भयौं । किनभने पालाम पनि हाम्रै कार्यक्रम हो ।

✍️ पालाम कार्यक्रमको वकालत गर्ने एक पक्षहरुले प्रतियोगिहरुको सहभागिता नभएर कार्यक्रम सारेको हो भन्ने कुरा सामाजिक संजालमा सुन्न पाइन्छ? के यो सत्य हो?
🗣️ यो बिल्कुल गलत कुरो हो । हामी संग थुप्रै प्रतियोगिहरुले सहभागिता जनाई सक्नु भएको भिडियो छ । एकाध मान्छेहरुले तेस्तो कुरा गरे होलान् । तर हामी आयोजक आयोजक बीच सुमुधुर संबन्ध छ । हामी आपसमा छलफल गरिरहेका छौँ ।

✍️ विजेता प्रतियोगीहरुलाई पुरस्कार बढाएर दिइने कुरा सुन्नुमा आएको छ? खासमा आधिकारिक कुरा के हो?
🗣️ यो सत्य हो । हामीले सुरुमा निर्णय गर्दा प्रर्थम पुरस्कार रु २५ हजार राखेका थियौं, अहिले बढाएर रु ५५ हजार र दोस्रो पुरस्कार ३० हजार र तेस्रो रु २० हजार पुर्‍याएका छौँ । हुनु त यो राशी थोरै होला । हाक्पारेको मूल्य त अनगिन्ती छ । तै पनि प्रतियोगिहरुको र हाक्पारे प्रती शुभचिन्तकहरुको मनोबल बढाउनको लागि हामीले बढाएका हौं ।

✍️ प्रतियोगिता गर्नु त खर्च चाहिन्छ? तपाईहरुले खर्च गर्ने स्रोत चैँ कहाँ-कहाँ बाट पाउदै हुनुहुन्छ? कि आफै आयोजक समितिहरुले सबै मिलेर गर्न खोज्नु भएको हो?
🗣️ जुनै कार्यक्रम पनि खर्च बेगर हुदैन । तर राम्रो कार्यक्रम गर्दा मनकारीहरुले प्रायोजन गर्दोरहेछ । यो विश्वव्यापी याक्थुङ हाक्पारे अन्लाईन प्रतियोगिता गर्दा पनि थुप्रै हाक्पारे प्रेमिहरुले प्रायोजन गर्नु भएको छ । मुख्य प्रायोजक चाहिँ सेवारो अन्लाईन टिभी रहनु भएको छ । र अन्य व्यक्तिगत प्रायोजकहरु पनि थुप्रै हुनुहुन्छ । यो लिस्ट चाहिँ अलिक दिनमा सार्वजनिक गर्ने छौँ ।

✍️ विश्वव्यापी अनलाइन हाक्पारे प्रतियोगिता कुरेर बस्नु भएका दर्शकहरुलाई साथै झापा बुलेटिनको पाठकहरुको माझ अन्त्यमा के भन्न चहानु हुन्छ?
🗣️ सर्वप्रथम हाम्रो शुभचिन्तकज्युहरु प्रती आभार व्यक्त गर्दछु । र हामीले संचालन गर्दै गरेको विश्वव्यापी हाक्पारे अन्लाईन प्रतियोगिता हामी समितिको मात्र नभएर तपाईं हामी सबैको हो, यसलाई सफल बनाउन तपाईंहरुको पनि ठूलो भुमिका रहनेछ र हाक्पारेको अस्तित्व उठाएर सबैले काँधमा बोकौं । भाषा, लिपि, संस्कार, संस्कृति हराए पहिचान हराउछ । पहिचान हराए जाती हराउछ । त्यसैले यो अभियानलाई हाम्रै होभन्ने सोचेर सफल पारौं । अन्त्यमा मेरो भनाई विचारलाई स्थान दिनु भएकोमा झापा बुलेटिनलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

धन्यवाद ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!