चितवन । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको शनिबार विहान ६ स् ३५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
शुक्रबार दिउँसोदेखि उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइसोलेसन वार्डबाट आईसीयूमा सारिएको थियो । असार १० गते चितवन मेडिकल कलेजमा भर्ना भएका उनलाई असार ११ गते राति ८ बजे भरतपुर अस्पताल रिफर गरिएको थियो ।
उनी फोक्सोको क्यान्सरका विरामी थिए । बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरले भर्ना नलिएपछि उनी चितवन मेडिकल कलेज आएको कलेजको दावी छ । चितवनमा मेडिकल कलेजमा उपचाररत उनलाई बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएपछि उनलाई भरतपुर अस्पताल सारिएको थियो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २८ पुगेको छ ।यसअघि भरतपुर महानगरपालिका–११ का कोरोना संक्रमितको मृत्यु भएको थियो ।