झापा । झापाको हल्दिवारी गाउँपालिकामा सडकको नामाकरणको विषयलाई लिएर कुटाकुट भएको छ।

आज भएको गाउँसभामा कुटाकुट भएको हो। गाउँपालिकाको पाँचौँ गाउँसभामा कुुटााकुट भएसंगै झ्याल समेत तोडफोड भएको छ। सडक नामकरणको विषयमा उत्पन्न विवादमा नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कार्यकर्ताहरूले गाउँ सभा चलिरहेको अवस्थामा गाउँपालिका घेराउ गर्दै तोडफोड गरेको बताइएको छ।
सोही क्रममा दुई जना घाइते भएका छन्।

घाइते हुनेमा नेपाली कांग्रेसका गाउँपालिका उपाध्यक्ष गंगाप्रसाद प्रसाईँ र राप्रपा वडा नम्बर २का अध्यक्ष भीमराज फ्याक रहेका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ। तोडफोडबाट गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरी बस्ने कार्यकक्षको सिसा फुटेको छ । गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले समेत कुर्सी तोडफोड गरेको बताइएको छ।

घटना विवरण अनुसार साबिक जलथल गाविस हाल हल्दिबारी गाउँपालिका वडा नम्बर ३, ४ र ५ जोड्ने सडकको नामकरण को विषयमा स्थानीय दलहरूबीच विवाद शुरु भएको थियो।
सो सडकको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले स्व. द्रोणाचार्य क्षेत्री राख्नुपर्ने बताउँदै आएकोमा नेपाली कांग्रेस र राप्रपाले स्व. केशवकुमार कन्दङ्वा राख्नुपर्ने अडान लिएका थिए। दुवै जिल्लाका स्वर्गीय चर्चित नेता हुन्।

सडक नामकरणको विषयमा विवाद उत्पन्न भएपछि जेठ ८ गते गाउँपालिकाको कार्यपालिकाको बैठकले जेठ ८ गते गाउँ सभाबाटै नामकरण टुङ्गो लगाउनुपर्ने निर्णय गरेको थियो। सोही निर्णय बमोजिम बुधवार दिउँसो गाउँ सभा शुरु भएको थियो।
गाउँ सभा शुरु भए लगत्तै नेपाली कांग्रेस र राप्रपाका कार्यकर्ताहरू भेला भएर सडककै विषयमा ज्ञापनपत्र बुझाउन गाउँपालिका पुगेका थिए।

गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गरिरहेका थिए। उपाध्यक्ष गिरीको प्रस्तुति सकिएपछि कांग्रेस र राप्रपाका कार्यकर्ताहरूले अध्यक्ष रवीन्द्र लिङ्देनलाई ज्ञापनपत्र बुझाउन खोजिरहेका थिए।
तर, अध्यक्ष लिङ्देनले ज्ञापनपत्र बुझ्न मानेनन्, उनले सडकको नामकरणको विषयमा सभामै कुरा राख्न भनेका थिए। ज्ञापनपत्र नलिएको भन्दै नेपाली कांग्रेस र राप्रपाका कार्यकर्ताहरू सभा बिथोल्दै एक्कासी तोडफोडमा उत्रिएका थिए।

गाउँपालिकामा तोडफोड भएपछि सशस्त्र प्रहरी र नेपाल प्रहरी तत्काल घटनास्थल पुगेको थियो। प्रहरीले गाउँपालिकामा कडा सुरक्षा प्रदान गर्दै तोडफोडमा उत्रिएका कार्यकर्ताहरूलाई त्यहाँबाट हटाएर माहौल शान्त बनाएका थिए।
लगत्तै राप्रपाबाट जितेका हल्दिबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङदेनसहित ६ जना जनप्रतिनिधिले गाउँ सभा बहिष्कार गरेका छन्। सडक नामकरणको विषयमा बल्झिएको विवादपछि गाउँपालिकामा तोडफोड भएपछि उनीहरू गाउँसभा बहिष्कार गरेर हिँडेका हुन्।

अध्यक्ष लिङ्देनसहित वडा नम्बर ५ का वडाध्यक्ष शेरबहादुर नेम्वाङ, ४ नम्बर वडाध्यक्ष होमप्रसाद चुडाल र अन्य तीन जना वडा सदस्य रहेका छन्। राप्रपाका पाँच जना र कांग्रेसका एक जना जनप्रतिनिधिले बहिष्कार गरेका हुन्। यता घटनाको विषयमा गाउँपालिकाका अध्यक्ष लिङ्देनले विवाद तोडफोडको क्रममा आफूलाई नेकपाका केही कार्यकर्ताले हातपात गरेको भन्दै मेची अञ्चल अस्पताल भद्रपुर स्वास्थ्य जाँचका लागि आएको बताए।

यता गाउँपालिका उपाध्यक्ष गिरीले अध्यक्ष लिङ्देन आफैँ सभा छाडेर गएको दाबी गरेका छन्। अमर्यादित ढङ्गले प्रस्तुत हुने जो कोहीलाई सार्वजनिक मुद्दा चलाउने भन्दै सभा पुनः सञ्चालन गरेको उनले बताए । यता बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८का लागि १ अर्ब १५ करोड ४ लाख ८८ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

https://www.facebook.com/619781895056847/posts/1228807500820947/

Facebook Notice for EU! You need to login to view and post FB Comments!