लौकाट पालन परिचय:
लौकाट अफ्रिकी मूलको चरा हो । नेपालमा लौकाटपालनले व्यावसायिक रूप लिन सकेको छैन । केही भारतीय व्यापारीहरूले दसैँ तिहार ताका मासुको माग काठमाडौमा बढेको बेलो लौकाट बिक्री वितरण गर्दछन् । लौकाट मासु र अन्डाको लागि पालन गरिन्छ । लौकाटको वैज्ञानिक नाम Numida meleagris हो । यसलाई हल्लाखोर भनेर पनि चिनिन्छ । लौकटको मासु केही मुलायम र गाढा रङको हुन्छ । लौकाटको मासुमा विशेष सुगन्ध तथा स्वाद पाइने भएकोले मानिसहरू कुखुराभन्दा पनि बढी रुचाउने गर्दछन् ।
लौकाट पालनबाट फाईदाः
१. कुखुरा भन्दा निकै मजबुत हुने भएकोले प्रतिकूल परिस्थितिमा र विभिन्न जलवायुमा पनि लौकाट पाल्न सकिन्छ ।
२. यिनीहरूले जे पायो त्यही खाने र आफ्नो आहारा आफै खोजेर खाने भएकोले गाउँ घरमा सजिलै पाल्न सकिन्छ ।
३. यिनीहरूलाई रोगव्याध हुनेे सम्भावना कम हुन्छ ।
४. यिनीहरू समूहमा बस्ने भएको र कुखुरासँग मिसिन सक्ने भएकोले सजिलै सँग पाल्न सकिन्छ ।
लौकाटको व्यवस्थापन:
यसका मुख्य जातहरूमा पर्ल, लबेन्डर हुन् । वयस्क चरा कुखुराभन्दा सानो तथा तौलमा केही कम हुन्छ । भाले तथा पोथी एकै किसिमका देखिन्छन् । अनुभवी कृषकहरूले भाले तथा पोथी उनीहरूको आवाज तथा रूपरङ्ग हेरेर तीन महिनाको उमेरमा छुट्याउन सक्दछन् । यो चरा करिब ८–१० महिनाको उमेरमा वयस्क हुन्छन् । एउटा पोथीले एक वर्षमा ६०–१०० वटासम्म फुल पार्दछ । अन्डा केही सानो, केही खैरो वा निलो रङ्गको हुन्छ । एउटा फुल करिब ४० ग्राम तौलको हुन्छ । फुल प्रायः चैत देखि असोज सम्म पार्ने गर्दछ ।
फुलबाट २८ दिनमा बच्चा कोरल्छ । बच्चा उत्पादनको लागि लौकाट पाल्दा ५ वटा पोथीमा एक भाले राख्नु पर्दछ । अन्डा कोरल्न इन्कुबेटर मेसिन वा स्थानीय कुखुरीको प्रयोग गर्नु पर्दछ । लौकाटलाई कुखुरा जस्तै पालन सकिन्छ । छाडा छाडेर पाल्दा यिनीहरू कीरा, अन्न, घाँसपात आदि खोजेर खान्छन् । उन्नत तरिकाले लौकाट पालन गरेमा यिनीहरू ३–४ महिनाको उमेरमा डेढ किलोसम्मका हुन्छन् । लौकाटलाई कुखुरा जस्तो रोग लाग्दैन । व्यावसायिक रूपमा लौकाटपालन गर्दा २–३ वर्षसम्म पाल्नु पर्दछ ।
पुनश्चः थप जानकारी: लौकाटको चल्लाको लागि आफ्नो नजिकको पशु सेवा केन्द्र, पशु सेवा कार्यालय, कुखुराका चल्ला बिक्री वितरण गर्ने एजेन्टहरुसँग सम्पर्क राख्नु होला ।