✍️सुमन लेप्चा

झापा । आत्महत्या भनेको आफैले आफैलाई मार्नु हो । मनोबैज्ञानिकहरु भन्छन आत्महत्या नकारात्मक सोचको उपज हो । आत्महत्या गर्नुको अनेक कारणहरु हुन्छन । मान्छेहरुले परि आएको अनेक समस्याहरुलाई व्यवस्थापन गर्न नसक्दा नै मान्छेहरुले आत्महत्या गर्छन । कुनै एक व्यक्तिले आत्महत्या गर्नुको कारण परिवार, साथीभाइ, समाज, सिङ्गो राष्ट्र र आफ्नो नकारात्मक सोचहरु रहन्छ । अहिले नेपालमा मात्रै नभइ विश्वमै आत्महत्या एक जटिल समस्या बनेको छ । हाम्रो समाजमा आत्महत्या किन गर्छन मान्छेहरुले भन्ने कुराको खोज-अनुसन्धान गर्नुको बदला सजिलै भनिदिन्छन कि छोटो बुद्धि गरेर जिन्दगीलाई सकेर कायरता देखायो, पापी रहेछ, त्यसलाई के पुगेको थिएन । सबथोक पुराएको थियौ । यस्तै यस्तै वाक्यहरु समाजमा सुन्न पाइन्छ ।
मैले आफ्नै खोज-अनुसन्धानबाट थाहा पाए कि मान्छेहरुले आत्महत्या डिप्रेसनको कारणले नै गर्दो रहेछ । मेरो आफ्नै अनुसन्धानबाट तयार पारेको डिप्रेसन २ किसिमको छ ।
१) मानसिक रोग डिप्रेसन
२) मानसिक स्वास्थ ठिक भएकोलाई हुने अकस्मात् डिप्रेसन
माथी प्रस्तुत २ किसिमको डिप्रेसन मध्ये मानसिक स्वास्थ्य ठिक भएकालाई हुने अकस्मात् डिप्रेसनको बारेमा लेख्दैछु ।

१) मानसिक रोग डिप्रेसन

मानसिक रोग डिप्रेसनको बारेमा मनोबैज्ञानिक, मनोचिकित्सा, मनोबिश्लेषकहरुले लेखिएको पुस्तकहरु हामीमाझ धेरै उपलब्ध छ । हामी धेरैलाई अवगत छ, यस्ता बिमारीहरुलाई मनोचिकित्सा, मनोबिश्लेषकहरुको परामर्श र औषधि सेवन गरेपछी निको हुन्छ । यो बिषयबारे धेरै लेख्न चहान्न, किन कि यस बिषयमा हाम्रो बजारमा धेरै पुस्तकहरु उपलब्ध छन, जसलाई सजिलै खरिद गरि पढेर यो बिषयमा अवगत हुन सक्नु हुन्छ ।

२) मानसिक स्वास्थ ठिक भएकालाई हुने अकस्मात् डिप्रेसन

समाजमा समान्य रुपमा जिविकायापन गरिरहेका मान्छेहरुलाई अकस्मात् आईपर्ने समान्य तथा जटिल समस्याहरुलाई व्यवस्थापन गर्न नसक्दा, ती समस्याहरुको समाधान नभेट्दा, ती व्यक्तिको समस्याबारे परिवारले वास्त नगर्दा, कोहि कसैबाट आफुले अपेक्षा गरेको सहयोग नपाउदा, आफ्नो समस्याबारे कसैले नसुनिदिदा, समस्यामा परेको व्यक्तिलाई कतैबाट सकारात्मक परामर्श, सल्लाह, सुझाव, सहानुभूति प्राप्त नहुदा यस्ता व्यक्तिहरु निराश हुने, दुखीत हुने, संसारमा आफ्नो मान्छे कोहि नभएको अभास गर्ने, बिल्कुलै एक्लो भएको महसुस गर्ने, ससारिक मोह त्याग गर्ने, केही गर्दा पनि माज्जा नहुने, एक्लै टोलाई बस्ने, कसैसग बोल्न मन नपराउने, हास्न बिर्सिने, निद्रा नलाग्ने लगायतको समस्याहरु देखा पर्न थाल्छ । यि लक्षणहरु देखिएको केही समयभित्र यस्ता मान्छेहरुले आत्महत्या गर्ने योजना बनाई उचित समय पर्खिएर आत्महत्या गरेको खोज अनुसन्धानहरुबाट जानकारी प्राप्त भएको छ । आत्महत्या गर्ने हरेक व्यक्तिहरुको लक्षणहरु नियाल्दा मानसिक रोग डिप्रेसनको लक्षणहरुसग सतप्रतिशत मिल्न पुग्छ । जसलाई मैले “अकस्मात डिप्रेसन” को नाम दिई वर्गीकरण गरेको छु । अकस्मात डिप्रेसन कुन कुन अवस्थामा हुन्छ, यो बिषयमा बुदागत रुपमा तल प्रस्तुत गर्ने जमर्को गर्दैछु ।

क) क्रोध, घुर्की, शंका, उक्साहट आदि कुराबाट गरिने आत्महत्या

हाम्रो समाजमा धेरै मान्छेहरु यी कुराहरुले पिडित भएर आत्महत्याको शिकार बनेका छन । धेरै रिस गर्नु, घुर्की लगाउनु, शंका गर्नु, मान्छेहरुको उक्साहटमा लाग्नु लगायत पनि आफ्नो भैतिक शरीर नष्ट गर्नु हो । त्यसैले सधै हामी यी कुराहरुबाट सर्तक रहनु पर्छ । यदि हामीले यी कुराहरुलाई मिलाएर राख्न सक्यौभने केही हदसम्म आत्महत्या समस्यामा न्यूनीकरण हुनेथियो ।

ख) विवाह बन्धन/प्रेममा धोका पाएर गरिने आत्महत्या

यी बुदामा पुरुषको तुलनामा महिलाहरुले धेरै आत्महत्या गरेको पाइन्छ । आफ्नो श्रीमान/श्रीमती/प्रेमी/प्रेमिका परस्त्री वा परपुरुषसग सल्केको जानकारी भएपछि लिइने मानसिक समस्या हो । यो समस्याबाट ग्रासित मान्छेहरुले कि बदलाको भाव राखेर समाजिक दुर्घटना निम्ताउछ कि आफुलाई नाश गर्न पुग्छन । त्यसैले यस्ता मान्छेहरुलाई घरपरिवारभित्रका सदस्यहरुले, साथीभाईहरुले समाजमा बसेको हरेक सदस्यहरुले नकारात्मक टिका-टिप्पणी नगरेर सकारात्मक परामर्शहरु दिएर जिन्दगीमा यस्ता समस्याहरु आइरहन्छन् जसलाई हामीले सहज रुपमा लिएर यस्ता तनावको व्यवस्थापन गरेर अगाडि बढ्नु सक्नु पर्छ । समाजमा यस्तै पीडा भोगेर बाचिरहेको व्यक्तिहरुलाई प्रेरणाको स्रोत बनाई उदाहरण दिएर ती व्यक्तिभित्र उत्पदित रिस, बदलाभाव, जलन आदिलाई हृदयबाट हटाउन सके, समाजिक दुर्घटना हुनबाट जोगाउन सकिने थियो ।

ग) काम, व्यवसाय, शिक्षा आदिमा असफलता भएर गरिने आत्महत्या

मान्छेहरुले गरिरहेको काममा असफलता हुदा, कुनै व्यवसाय गर्दा असफलता हुदा, शिक्षामा असफलता हुदा पनि धेरै मान्छेहरुले आत्महत्या गरि रहेका छन । मान्छेहरुमा असफलता नै सफलताको पहिलो खुट्किलो होभन्ने कुराको ज्ञान नहुदा दुखी हुने, निराश हुने, सिङ्गो परिवार, समाज, साथीभाईहरुले गिज्याई रहेको महसुस गर्ने, घरपरिवार, साथीभाईहरुबाट सकारात्मक परामर्शको बदलामा तनावग्रस्त कुराहरु पाउनले यस्ता किसिमको मान्छेहरु दिक्क हुने, समाजमा आफुलाई राम्रो सोच्ने मान्छे कोहि नभएको एक्लो भएको ठान्ने लगायत सोच्दछन । पलभरमै मानसिक रोग डिप्रेसनमा हुने लक्षणहरु देखा पर्न थाल्दछन । यो अवस्थामा हामीले सकारात्मक परामर्श दिनु सके बचाउन सक्छौ नत्र कुनै पनिबेला आत्महत्या गर्न सक्दछ ।

घ) क्षमताभन्दा बढी ऋण पर्दा गरिने आत्महत्या

मान्छेहरु परिश्रमी हुन्छन । आर्थिक कारोबार गर्दा अचानक परिवारभित्रको सदस्य बिमारी हुदा जहाँ क्षमताले नभ्याउने गरि पैसा खर्च भइ ऋणमा पर्दछन । कति मान्छेहरु व्यवसायहरुमा घाटा भइ अत्यधिक ऋणमा पर्दछन । कति मान्छेहरु छोराछोरीलाई उच्च शिक्षा हासिल गराउदा ऋणमा पर्दछन । कति मानिसहरु जुवा, तास, परस्त्री, परपुरुषसग मनोरञ्जन गर्दा ऋणमा पर्दछन । जुन ऋणलाई कुनै पनि हालतमा मिलाउनु नसक्दा, साथीभाईहरुलाई पैसा सरसापटमा माग्दा नदिने, कोहि कसैबाट सहयोग नपाउदा, ऋण भुक्तानी गर्न आफुसग चल अचल सम्पति नहुदा हुने समस्यालाई व्यवस्थापन गर्न नसक्दा यस्ता मान्छेहरुले कि सामाजिक दुर्घटना निम्ताउछ कि त आत्महत्या गर्छन । यस्ता मान्छेहरुलाई उचित सकारात्मक परामर्श समयमै दिन सक्यौभने हामीले सामाजिक विकृती र यस्ता कारणबाट गरिने आत्महत्या नियन्त्रण गर्न सक्छौ ।

ङ) बेरोजगार मान्छेबाट गरिने आत्महत्या

वर्तमान अवस्थामा बेरोजगार नेपाल राष्ट्रको प्रमुख समस्या हो । बेरोजगारले चोर, फटाहा, गाजाडिया, बलात्कारी, कुखुरे डन, बाख्रे डन आदि जन्म गरि समाजमा नै विचालित गराउने गरि बिकृती फैलाउने मुल कुण्ड हो । हाम्रो देशमा बेरोजगार समस्या समाधान हुनु होभने लगभग ७०% सामाजिक अपराधी कार्यहरुको नियन्त्रण हुने थियो साथै बेरोजगार समस्याबाट गरिने आत्महत्याको पनि नियन्त्रण हुने थियो । बेरोजगार मान्छेले चाहिँ कसरी आत्महत्या गर्छ्भन्ने खुल्दुली होला, यो बिसयमा छोटकरीमा व्याख्या गर्दैछु । हामी सबैलाई थाहा छ, बेरोजगार भएपछि हामीलाई दिनचर्या बिताउन गाह्रो पर्छ, सबै साथीभाईले गिज्याउने-जिस्काउने कार्य गर्छन, दैनिकि दिनचर्यामा अनेक समस्या आईपर्छ, जसको समाधान गर्न कठिन हुन्छ, व्यवसाय गरुम पैसा हुदैन, अरु तल्लो स्तरको काम गरुम भने मन मान्दैन, यदि गरेपनि मान्छेहरुले सधै होच्याएर बोलाउदै हेप्नले गर्दा त्यस्ता मान्छेहरुको मस्तिष्कमा एकप्रकारको गहिरो असर पर्ने हुन्छ । यस्ता कारणले गर्दा बेरोजगारीहरुले कि सामाजिक दुर्घटना निम्ताउछ कि त आफुलाई सक्ने आत्महत्याको बाटो रोज्छन । यस बिषयमा बिशेष नेपाल सरकारले रोजगारमुलक कार्यक्रम ल्याउनु पर्‍यो । समाज, परिवार, साथीभाइहरुले सबै काम एउटै होभन्ने कुरामा प्रोत्साहित गरेर सबै कामको कदर गर्दै बेरोजगारीललाई रोजगारी बनाउन प्रेरणाको स्रोत बनी दिदा पनि बेरोजगारले निम्ताउने समस्याहरुमा रोकथाम हुने थियो ।

च) गरिवी समस्याले निम्ताउने आत्महत्या

गरिबी समस्या पनि समाजमा बिकृती फैलाउने मुख्य कारण मध्ये एक हो । गरिबीले पनि मान्छेलाई आत्महत्या गर्न बाध्य बनाई रहेको छ । समाजमा बस्ने अनेक मान्छेहरुले घृणा, बेज्जत गर्नले, हरेक कुरामा अभाव-अभावै हुनले, जति परिश्रम गर्दा पनि खाना लाउन नपुग्नाले, बिमारी हुदा कोहि कसैलाई ऋण माग्दा ऋण दिनु त परको कुरा उल्टै गाली, बेज्जत र औकातको कुरा गरेर दैनिकी सोच्ने सकारात्मक मस्तिष्कलाई नै उथलपुथल गराई दिएर आत्महत्या गर्ने प्रेरित गरिरहेको हुन्छ वा समाजमा सामाजिक दुर्घटना गराउने प्रेरित रहेको हुन्छ त्यसैले हामीले गरिबीबाट हुने यस्तो कार्यहरुको रोकथाम गर्न सर्वप्रथम हामीले गरिब पनि मान्छे हो, जसलाई अरु मन्यजन्य मान्छेहरुलाई जस्तै सम्मान-आदर गर्न पर्छभन्ने सकारात्मक सोच हामीमा हुन जरुरी छ साथै गरिबीबाट माथी उकास्ने कार्य गर्न प्रेरित गरि सकारात्मक परामर्श दिने, हामीले ऋण दिन नसकेपनि घृणा, बेज्जत, हेला होइन माया, प्रेम, ईज्जत् दियौभने गरीबीबाट हुने सामाजिक दुर्घटनामा नियन्त्रण हुनेथियो ।

छ) चरीत्रहत्या हुदा गरिने आत्महत्या

धेरै मान्छेहरु यो कारणबाट आत्महत्या गरिरहेका छन । एक असल मान्छेमाथी आफ्नो इज्जतमा आच पुग्ने गरि चरीत्र हत्या भयोभने विकल्पमा यस्ता समस्या र बेज्जतबाट लुक्न आत्महत्या बाटो रोज्छन । यस्ता मान्छेहरुलाई पनि सकारात्मक परामर्श दिएर परि आएको समस्यालाई जुध्न प्रेरित गर्ने प्रेरणा प्रदान गरेर यस समस्याले सृजना गर्ने आत्महत्यालाई नियन्त्रण गर्न सक्छौ ।

ज) सेक्स रेकर्ड बाट उत्पन्न मानसिक तनावले निम्ताउने आत्महत्या

यो पनि चरीत्र हत्या शिर्षक अन्तर्गत पर्दछ । तर मैले यसलाई छुट्टै कारणमा वर्गीकरण गरेको छु किन कि यस समस्यामा पुरुषभन्दा बढी महिलाले मात्रै आत्महत्याको बाटो रोजेको पाइन्छ । सेक्स रेकर्ड कुनै सहमति, कुनै जबर्जस्त, कुनै झुक्याएर, कुनै अत्यधिक मा.प.से. गराएर, कुनैलाई बाध्यतामा परेर तयार बनाएको हुन्छ । पछि यसको दुरुपयोग गर्दै सामाजिक सन्जालमा, युट्युव बाट प्रसारण गर्ने धम्कीको साथ ब्लाकमेल गर्न थाल्छ । उनीहरुले भनेको नमान्दा कतिले त प्रसारण गरेको पाइन्छ । यसबाट उत्पन्न चरीत्र हत्याको मानसिक तनावलाई थेग्न नसक्दा आत्महत्याको शिकार बनी रहेको हुन्छ । यस्तो मानसिक तनावमा परेर नेपालको ख्यातिप्राप्त नायिकाहरुले पनि आत्महत्या गरेको समाचार हामीले पढ्न पाएको छौ ।
हाम्रो समाज पुरुष प्रदान समाज रहेकोले यो समस्यामा हामी स्त्रीलाई मात्रै दोषी बनाउछौ । आत्महत्या गराउने अनेक उक्साहट कार्यहरु हामी पुरुषहरुबाट प्रदान गरि प्रेरित गर्दछौ । जसको कारणले एक निर्दोष असल महिलालाई हामी गुमाई रहेको हुन्छौ । यस मानसिक तनावबाट बच्ने अनेक उपायहरु छन, जुन कुराको सम्भव साथीभाइ, घरपरिवारबाट र सिङ्गो समाजबाट सकारात्मक परामर्शबाट छ । त्यसैले हामी यस्ता समस्या भोगेका महिलाहरुलाई बाचेरै कानुनी प्रक्रियामा लड्न उत्प्रेरित गरि दोषीलाई कार्वाही गराउनेको निम्ति साथ-सहयोग गर्दा अकालमा ज्यान गुमाउनबाट रोक्ने सक्ने थियौ ।

आत्महत्या गर्ने धेरै कारणहरु छन । सबै कारणहरु लेख्दा लेख होइन पुस्तक नै बन्ला । त्यसैले हाम्रो समाजमा धेरैजसो गरिने आत्महत्याको कारणहरु बारेमा मैले सुनेको जानेको लेखे । वास्तवमा हामी निकै स्वार्थी, व्यस्त र आफ्नोबारेमा मात्रै सोच्दछौ । कहाँ के हुदैछ छरछिमेकमा कुनै जानकार राख्दैनौ । यदि राखेपनि हामी डाहा, कुभलो, नकारात्मक सोच मात्रै राख्छौ । अरुको प्रगतिमा रमाउन सक्दैनौं-सक्दैनौं तर रमाउनेहरुको पनि कुरा काट्न थाल्छौ । जुन बानीले हाम्रो समाज ग्रसित छ, यस्ता बानीहरु नयाँ पिढिमा पनि हस्तान्तरण भएर कहिले अरुप्रती नकारात्मक सोच राख्ने बानीलाई हामीले मिटाउन सकेको छैनौ । जुन सोचले आफुलाई अनि समाजमा पनि प्रत्यक्ष असर पुराई रहेको हुन्छ । जसले आत्महत्या गर्ने मान्छेहरुमा अप्रत्यक्ष रुपमा उत्प्रेरित गरिरहेको छ ।
वास्तवमा हरेक मान्छेहरुले गर्ने आत्महत्या मानसिक तनावले गर्दा नै हो । त्यसैले यो आत्महत्याको समस्यालाई रोक्न घरपरिवार, इष्टमित्र, समाज अनि राष्ट्रमा नै सकारात्मक सोच हुनु अवश्यक छ । मान्छेको केही मिनेटको सकारात्मक परामर्शले आत्महत्या गर्ने मान्छेलाई बचाउन सक्छ । त्यसैले यो बिषयमा विशेष नेपाल सरकारले गम्भीर भएर अध्ययन गरि देशव्यापी रुपमा सकारात्मक सोच कसरी आफुमा राख्ने अनि समस्यामा परेकोलाई कसरी सकारात्मक परामर्श प्रदान गर्ने कुराको जनचेतना फैलाउन टोल, गाउँ र शहरहरुमा जनचेतनामूलक कार्यक्रमहरु गर्दा मान्छेहरुमा आइपर्ने अकस्मात डिप्रेसन हुनुबाट जोगिने थियो अनि यस्ता समस्याबाट गरिने आत्महत्याको सतप्रतिसत नियन्त्रण हुनेथियो ।
हामी सबैमा जानकारी रहोस कि एकजना मान्छेले आत्महत्या गर्दा यसको दोषी-जिम्मेवारी घरपरिवार, साथीभाई, समाज र सिङ्गो राष्ट्र प्रत्यक्ष-अप्रत्यक्ष रुपमा हुनेछ । त्यसैले हामी सबैले सकारात्मक सोच राख्ने गरौ, अरुको बारेमा सोच्दा पनि सकारात्मक सोचौ । मान्छेहरुलाई अकालमा ज्यान गुमाउनबाट रोकौ ।

“मान्छेहरुले आत्महत्या गर्ने कारणहरु हुन्छ अनेक
केवल यसलाई रोक्न सक्छ सकारात्मक परामर्श एक”

धन्यवाद ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!