जाजरकोट । रुकुम पश्चिमको सोतीबाट बेपत्ता गोविन्द शाहीको शबको प्रकृति हेर्दा विभत्स रुपमा हत्या गरेर फालिएको जस्तो पाइएको छ । घटना भएको १० दिनपछि जाजरकोटको भेरी नगरपालिका ११ मटेलाका शाहीको शब मंगलबार भेरी नदी किनारामा भेटिएको हो ।

शबको प्रकृति हेर्दा उनलाई ढुंगाले मुखमा हानेर, मारेर मात्रै भेरी नदीमा फालिएको देखिन्छ । जाजरकोट प्रहरीको विशेष स्रोतले उपलब्ध गराएको फोटो अनुसार उनको शब हेर्नै नसकिने अवस्थामा छ ।

उनको मुख पूर्ण रुपमा ढुंगाले हानेर कच्याककुच्चुक पारिएको छ । मुखभित्र दात समेत भाच्चिने गरी ढुंगाले हानेको शबमा देखिन्छ । घटना भएको १० दिनसम्म पनि उनको टाउकोमा रगत देखिएको छ । मुख, टाउको र पछाडी पिठ्युमा रगत देखिएपछि उनलाई हत्या गरेर भेरी नदीमा खसालिएको अनुमान छ ।

सामान्यतया नदीमा डुबेको मानिसको शब रगत सोसिएपछि ३ दिनपछि उत्रिन्छ । नदीमा डुबेको मानिस एकै ठाउँमा भेटिने सम्भावना पनि निकै कम हुन्छ । तर उनको शबको प्रकृति हेर्दा ढुंगाले हानेर मारेर शब कतै लुकाइएको अनुमान गरिएको छ ।

गोविन्दलाई मारेर कतै लुकाइएको र भेरीमा हाम फालेको देखाउन एक दुई दिन अगाडी मात्रै नदीमा फालेर घटनाक्रम तयार पार्न शब झिकिएको अनुमान गरिएको छ । उनको शब बग्न नसक्नु, नवराज भेटिएकै खोला नजिक उनको शब भेटिनुले गोविन्दलाई मारेर कतै लुकाएको देखिन्छ ।

यद्यपी प्रहरीले वडाध्यक्ष डम्बर मल्लसहित १८ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । जेठ १० गते राती सोतीकी युवती शुष्मा मल्ललाई लिन गएका जाजरकोटका युवा नवराज विकसहित ६ जनाको हत्या भएको थियो । तर आरोपित पक्षले उनीहरुले भेरी नदीमा हाम फालेर ज्यान गुमाएको दाबी गर्दे आएको छ ।