उपमेयरको छोराले राहतको निम्ति गोली हाने

Byadmin@jhapa_bulentin

२२ जेष्ठ १४:४१ २२ जेष्ठ १४:४१ २२ जेष्ठ १४:४१

सिरहा ९ जेठ।सिरहामा राहत विषयमा विवाद हुँदा गोली चलेको छ । नरहा गाउँपालिका वडा नं.१ देविपुरमा राहत विषयमा भएको झडपमा गोली हानेको छ।

नरहा गाउँपालिकाकी उपमेयर गुलाब देवि चौधरीका छोरा अरविन्द चौधरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन् । गोली लागेर स्थानीय ५५ वर्षीय अख्तर मण्डल घाइते भएका हुन् । उनको दाहिने कञ्चटमा गोली लागेको बताइएको छ । झडपमा उनको खुट्टा पनि भाँचिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

मण्डललाई लगत्तै अम्बुलेन्समा जिल्ला अस्पताल सिरहा लगिएकोमा त्यहाँबाट विराटनगर रिफर गरिएको छ । उनीसँगै झडपमा गम्भीर घाइते भएका थप दुई जना गरि तीन जनालाई विराटनगर रिफर गरिएको हो । झडपमा परी अन्य २० जना जति घाइते भएको बताइएको छ । नेपाली कांग्रेस तर्फका १२ जना तथा नेकपा तर्फका ७ जना जति भाइते भएका हुन् । जसमा केहि महिला र बाँकी पुरुष छन् ।

उनीहरु सबैको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ । नेपाली कांग्रेस तथा अन्य पार्टी निकट स्थानीयहरु राहत वितरणको विषयमा वडाध्यक्ष अशोक साहसँग कुरा गर्न वडा कार्यालय पुगेका थिए । राहत वितरणमा काखापाखा भएको भन्दै भनाभनपछि विवाद उग्र बनेर दुई पक्षबीच झडप भएको हो । सोही क्रममा उपमेयरका छोरा अरविन्दले गोली चलाएका हुन् ।

उपमेयर चौधरी र वडाध्यक्ष साह तत्कालिन एमालेबाट निर्वाचित भएका छन् । यता, प्रहरीले भने दुई पक्षीय झडपमा केहि व्यक्ति घाइते भएपनि गोली चलेको वा नचलेको बारे पुष्टि हुन नसकेको बताएको छ ।

‘गोलीको हल्ला छ, तर पुष्टि भएको छैन,’ सिरहाका प्रहरी प्रवक्ता तथा डिएसपी विनोद घिमिरेले भने । घटना विषयमा अनुसन्धान भइरहेको डिएसपी घिमिरेले बताए ।