✍️ सुमन लेप्चा वाङ्चु
अमेरिकामा भएको घटना नियोजित नहोला, अहिले सो घटनाले रङ्ग विभेदको रुप लियो 🤔 त्यहाँ ड्युटीमा रहेको एक प्रहरीको गल्तीले ठूलो रुप लिदैछ, अहिले ती प्रहरीलाई सरकारले जागिरबाट निष्कासन गर्दै तुरुन्तै रङ्गभेद अपराधमा पाउने सजाँय दिइयो तैपनि त्यहाँका शान्त अनि व्यस्त शहरहरु एकदम अशान्त बनेको छ ।
काला जातलाई अपमान गर्दै घटना घटाएको कारणले गर्दा सो प्रहरीको श्रीमतीले आफ्नो पेटमा बच्चा हुदाहुदै पनि ती प्रहरीसँग सम्बन्ध विच्छेद गरिन । हाम्रो देशमा आफ्नो श्रीमानले गरेको विभेदको कारणले यस्तो निर्णय लिनु एक कलोकल्पित भावना मात्रै बन्नेछ । बरु उल्टै श्रीमानको पक्षमा वकालत गरेर झन विभेद माथी विभेद सृजना गर्नेछन । सायद ती प्रहरीको श्रीमतीले विभेदलाई नजिकबाट बुझेको हुनु पर्छ । विभेदलाई नजिकबाट बुझ्नेहरुले विभेद शब्द माथी नै विभेद गराउने विचारको जन्म गराउँछ ।
किन कि विभेद के हो? महसुस गर्नेहरुलाई, विभेदको परिभाषा बुझ्नेहरुलाई यसबाट उत्पन्न हुने पिडादायी अपमानले निम्ताएको सामाजिक दुर्घटनाबारे अवगत हुन्छन । उदाहरणको लागि मानुँ तपाईं बाटोमा हिडि रहनु भएको छ, तपाईले लगाएको लुगामा खोट देखाई तपाईलाई जिस्काई रहेको छ, त्योबेला तपाईको हृदयभित्र अपमानित भएको महसुस हुन्छ, रिस उठछ, तपाईले कि त्यो अपमान सहेर आफ्नो बाटो लाग्नु पर्ने हुन्छ, सक्नु भयोभने प्रतिकार गर्नु हुन्छ? उता तपाईलाई होच्याउने व्यक्ति अराजकता समूहको पर्योभने त्यही जन्मिन्छ “सामाजिक दुर्घटना” ।
“विभेद” कोरोना भाइरस जस्तै एक सामाजिक भाइरस हो । फरक यति हो कोरोना भाइरसले शरिरलाई चोट पुराई मानसिक क्षति पुराउनेछभने “विभेद” भाइरसले मानसिक असर गरेर शरिरलाई नोक्सान पुराउनेछ । यो विभेद भाइरसले ठुला, साना, धनी, गरिब, जाति, धर्म, संस्कृति आदि केही बाँकी राख्दैन । यी भाइरस कसैको ढोकामा, मन्दिरमा, लुगामा, संस्कृतिमा लगायत जरा गाडेर बसेको हुन्छ । भनुँ सबै ठाउँमा सजिलै बाँस बस्न सक्छ, एक अर्कामा सर्न सक्छ । यो भाइरसले सबैलाई रुवाउँछ, धेरैको ज्यान नै लिने गर्छ, त्यही भएर मलाई यो विभेद भाइरसको नाम सुन्न बितिक्कै रिस उठ्छ, मभित्र पनि यो भाइरसले साम्राज्य खडा गरेर बसेको छ तर म सधैंको लागि हृदयभित्रै लकडाउन गरेर राखेको छु, तोकिएको क्षेत्र देखि बाहिर निस्किनु निषेधित छ । किन कि मैले आफै “सामाजिक भाइरस विभेद” विरुद्व लड्न निर्मित गरेको एन्टीडोज प्रयोग गर्छु ।
हुन त एकदिन सबैको मृत्यु आएझै सत्य, सबै वर्गका मान्छेहरुमा भएको यो भाइरसको अन्त्य एकदिन जरुर हुनेछ । हो, मान्छेको मृत्युलाई रोक्न सकिन्न तर यो विभेदको भाइरसलाई हामीले आफुभित्र लकडाउन गर्न सक्ने एन्टीडोजहरु हामी आफैले निर्माण गरेर रोक्न सक्छौ । यो भाइरसलाई कोरोना भाइरसलाई जस्तै मार्न नसकिएपनि नष्ट गर्न सक्छौ । त्यसैले आज देखि “सामाजिक भाइरस-विभेद” लाई नष्ट गर्न हामी सबै जना एकीकृत हौ । किन कि यि विभेदको भाइरसलाई नियन्त्रण गर्न सक्यौभने हामी सबैले कल्पना गरेको सभ्य, सुन्दर समाजको निर्माण गर्दै समृद्धि नेपाल निर्माण गर्न सक्छौ ।